बेलायतको प्रेस्टनवासी नेपालीले गरे कार्यवाहक राजदूत र भक्तपुर मेयरसंग साक्षात्कार

लन्डन- नेपाली समाज प्रेस्टनले बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र भक्तपुर ठिमीका मेयर सुरेन्द्र श्रेष्ठसंग ‘मिट एण्ड ग्रीट’ गरेको छ ।
प्रेस्टनस्थित इम्यानुल सोसल क्लबमा सोमबार सांझ कार्यक्रम भएको हो।
उक्त कार्यक्रम नेपाली समाज प्रेस्टन आधिकारिक रुपमा दर्ता भए पश्चात पहिलो थियो । साथै प्रेस्टनमा नेपाली दूतावासबाट प्रतिनिधित्व भएको पनि यसैपटक हो ।
कार्यक्रमको सुरुवात तथा स्वागत मन्तव्य नेपाली समाज प्रेस्टनका प्रवक्ता सुशील गौतमले दिएका थिए । कार्यक्रम संचालनको जिम्मेवारी पनि उनले नै निर्वाह गरेका थिए ।
स्वागत मन्तव्यपछि प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडी र मध्यपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठलाई नेपाली समाज प्रेस्टनका अध्यक्ष हरि कार्कीले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।
नेपाली रास्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा कार्यवाहक राजदूत दुवाडीले प्रेस्टनमा पनि नेपाली समाज गठन भएको र नेपालीहरु एकापसमा मिलेर अगाडि बढेको देख्दा आफू गौरवान्वित भएको बताए ।
राजदूतावास लन्डनमा मात्रै केन्द्रित नभएर प्रेस्टन लगायत विभिन्न शहरमा रहेका नेपालीलाई आवश्यक परेको बेला साथ, सहयोग र हौसला प्रदान गर्ने अठोट समेत व्यक्त गरे ।
त्यसैगरी मध्यपुर ठिमी नगरपालिकाका मेयर श्रेष्ठले आफू बेलायत भ्रमणमा आएका बेला प्रेस्टनमा नेपाली समाज मिलेर बसेको देख्दा आफू खुशी भएको र भविष्यमा नगरपालिकाबाट कुनै किसिमको साथ सहयोग तथा सूचना चाहिए आफूले त्यसको पुलको काम गर्ने बताए ।
त्यसैगरी मन्तव्यका क्रममा नेपाली समाज प्रेस्टनका अध्यक्ष हरि कार्कीले बेलायत आएको समय देखि हालसम्म आइपुग्दा के कस्ता बाधा व्यवधान भोग्नु परेको थियो भन्नेबारे उल्लेख गर्दै प्रेस्टनका सबै नेपालीलाई जोड्ने हेतुले नेपाली समाज प्रेस्टन स्थापना गरेको जनाए । उनले संस्था स्थापनाको उद्देश्य हरेक दुःख सुःखमा साथ सहयोग प्रदान गर्नु रहेको पनि बताए ।
कार्कीले संस्थाले भविष्यमा गर्ने कार्ययोजनाबारे पनि अवगत गराए ।
अध्यक्ष कार्कीले नेपाली समाज प्रेस्टनको अगुवाइमा गत बैशाख १२ गते शनिबार प्रेस्टनको गुजरात हिन्दु मन्दिरमा भजन कीर्तन भएको र अब देखि हरेक महिनाको अन्तिम शनिवार भजन कीर्तन गर्ने जानकारी दिए ।
सो अवसरमा प्रेस्टनमा लामो समयदेखि बसोबास गर्दै आएका अग्रजहरु सत्यनराज भन्डारी, सनिता राज भन्डारी तथा मोहन कृष्ण भट्टराईलाई कार्यवाहक राजदूत र मेयर श्रेष्ठले उनीहरुको योगदानको कदर गर्दै खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रम थप रोमाञ्चक र रमाइलो बनाउन युनिशा थापा र जुना पुनको टिमले नृत्य प्रस्तुत गरेको थियो भने निश्चल अधिकारी, गोविन्द तामाङ एन्ड टिम र लक्ष्मण एण्ड टिमले संगीतमार्फत नचाएर माहोल तताए ।
उक्त कार्यक्रममा प्रेस्टनमा पहिलोपटक पुगेका कार्यवाहक राजदूत विपिन दुवाडी, मेयर सुरेन्द्र श्रेष्ठ र समाजका अध्यक्ष हरि कार्कीले स्थानीय नेपाली र पाहुनाहरुसंग साक्षात्कार गरे । सहभागीले कार्यक्रमबाट आफूहरुले भरपुर मनोरञ्जन साथै राजदूतावासको कन्सुलर सेवा लगायत विभिन्न समसामयिक विषयमा जानकारी पाएको भन्दै आभार व्यक्त गरेका थिए ।


सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


