शुक्रबार, चैत १६, २०८०
08:24 | १४:०९

पर्यटनलाई चलायमान बनाउन सातै प्रदेशका मौलिक खानाको प्रदर्शन

रासस जुलाइ २५, २०२०
काठमाडौं । बन्दाबन्दी खुलेसंगै पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय गतिविधि बढेका छन् । बन्दाबन्दीले करिब चार महिना व्यवसाय प्रायःठप्प भएकाले पुनः पर्यटनलाई चलायमान बनाउन पर्यटन व्यवसायी लागि परेका हुन् ।
बन्दाबन्दीका कारण होटल तथा रेष्टुरां व्यवसाय बन्द रहेपछि लामो समय घरमै थन्किएका सेफले नेपाली मौलिक खाना प्रदर्शन गरेका छन् । मौलिक खानाका नयां स्वाद पस्कंदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ललितपुरको सातदोबाटोस्थित आएएचएम कलेजमा शुक्रबार खानाका परिकार प्रदर्शनी भएको हो । नेपाली मौलिक खानाको प्रवद्र्धन कार्यक्रममा करिब ३० जना सेफले देशका सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका १३ वटा रैथाने खानालाई तयारी गरी प्रदर्शन गरेका थिए ।
प्रदेश एकबाट राजवंशी समुदायको भक्का, शेर्पा समुदायको फाल्गी, प्रदेश २ बाट मधेशी समुदायको रैथाने खाना कटिया, राई समुदायको किनामा, वाग्मती प्रदेशबाट नेवार समुदायको चटामरी, आलु, तामा र बोडी, त्यस्तै गण्डकी प्रदेशबाट आलङ्खु र काटुङ, प्रदेश ५ बाट ढकनी र कागुनोको खिर तथा कर्णाली प्रदेशबाट मार्सी चामलको भात र कोदोको ढिडो, सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व रहने गरी रोटा र चटनीलाई ‘प्लेटिङ’ गरेका थिए ।
लकडाउनका कारण ग्रामीण पर्यटनमा परेको प्रत्यक्ष असर र त्यसमा पनि होमस्टे व्यवसाय अझै केही समय बन्दै रहने अवस्थाका बीच सेफले मौलिक खानाको स्वादबाट उपभोक्तालाई आकर्षित गर्ने र यसले मौलिक खानाको पनि प्रदर्शन हुने आयोजकको विश्वास छ । आइएचएम कलेजसंगको सहकार्यमा ग्लोबल नेप्लिज सेफ फेडेरेसनको आयोजना र हस्पीटालिटी गाइड्सले व्यवस्थापन गरेको यस कार्यक्रममा तारागाउं विकास समितिका होमस्टे प्रशिक्षक रामप्रसाद उपाध्यायले सहभागी सेफ प्रशिक्षकलाई बदलिंदो अवस्थामा होमस्टेको व्यवस्थापन र सेफले व्यवसाय प्रवद्र्धनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का पाठ्यक्रम विकास महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीले नेपाली सेफ प्रशिक्षक र प्रशिक्षार्थी केन्द्रित रहंदै नेपाली मौलिक खानाको विषयमा छुट्टै पाठ्यक्रम निर्माण गरिरहेको बताए । विज्ञसंग अहिले राय सल्लाह लिने, अध्ययन, छलफल गर्ने र आवश्यक सहजीकरणको कार्यलाई सिटिइभिटीले प्राथमिकताका साथ अघि बढाइरहेको उनले बताए ।
त्यस्तै घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएशन अफ नेपालका अध्यक्ष केशव बडालले मौलिक खानाको प्रवद्र्धनले मात्रै होमस्टे व्यवसायलाई अहिलेको अवस्थामा उठाउन मद्दत पुग्ने बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू