बिहीबार, १७ सेप्टेम्बर, २०२६
20:37 | ०१:२२

उत्तरगयाका बाढीपीडितलाई निरन्तर स्वास्थ्य सेवा, शिविरबाट ३ सय बढी लाभान्वित

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२६

काठमाडौं–भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २२ औँ दिनमा पनि आफ्नो कार्य जारी राख्यो ।

भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–३, डाँडागाउँका बासिन्दालाई लक्षित गर्दै आज पनि स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी रसुवासँगको समन्वय र स्थानीय स्वास्थ्य चौकीको सहजीकरणमा उक्त शिविर सञ्चालन गरिएको हो।

एनआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा खटिएको चिकित्सक टोलीले प्रभावित क्षेत्रका बासिन्दाहरूको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा परामर्श सेवा प्रदान गरेको थियो। उक्त स्वास्थ्य टोलीमा डा. कावेरी कार्की, डा. शोभित गुरुङ र हरि कोजु सहभागी थिए ।

शिविरमा विशेषगरी रुघाखोकी, श्वासप्रश्वास, एलर्जी र विभिन्न दीर्घरोगबाट पीडित बिरामीहरूको जाँच गरिनुका साथै आवश्यकताअनुसार मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइएको थियो। यस शिविरबाट ३ सयभन्दा बढीले लाभान्वित भएका छन्।

यसैबीच, विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवालाई थप टेवा पुरयाउन एनआरएनएको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री, औषधि र ह्वीलचियरसमेत हस्तान्तरण गरिएको छ ।

एनआरएनए र भारतको सिख एडबीच बाढी प्रभावित क्षेत्रमा सहकार्यका लागि छलफल

एनआरएनए र सिख एड च्यारिटेबल ट्रष्ट भारतबीच भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि राहत तथा मानवीय सहायता उपलब्ध गराउने विषयमा छलफल भएको छ।

एनआरएनए सचिवालय, बालुवाटारमा भएको छलफलमा सिख एडले भर्खरै एनआरएनएले स्थलगत निरिक्षणका क्रममा देखेको अवस्था, बाढी प्रभावित क्षेत्रमा देखिएका तत्कालीन आवश्यकता, राहत सामग्री ढुवानी तथा वितरणका क्रममा देखिएका चुनौती र आगामी दिनमा राहत तथा पुनस्र्थापनाका लागि गर्न सकिने सहकार्यका विषयमा चासो राखेको थियो ।

उक्त चासोलाई सम्बोधन गर्दै भर्खरै प्रभावित क्षेत्रको स्थलगत निरीक्षणबाट फर्किएका एनआरएनएका महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), प्रवक्ता सोम सापकोटालगायतले आफ्नो स्थलगत अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।

छलफलमा भारतबाट आजै नेपाल आइपुगेका सिख एडका संस्थापक रौनक सिंहसहित नब्यजोत सिंह, परमजित सिंह तथा नेपालबाट राहत अभियानमा संलग्न स्वयंसेवकहरू सहभागी थिए। सिख एडले सन् २०२० देखि विपद् राहत, स्वास्थ्य सहायता, खाद्य सहयोग, शिक्षा, महिला सशक्तीकरण, जीविकोपार्जन तथा समुदाय विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। हाल सिख एडले ‘Nepal Flood Relief 2026’ अभियान सञ्चालन गरिरहेको छ।

४ करोड ३८ लाख भन्दा बढी रकम संकलन

भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी छ। पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा विभिन्न संघ संस्था र नेपालीहरुको व्यक्तिगत तर्फबाट ४,३८,६९,२७१.३३ रुपैयाँ सहयोग कोषमा जम्मा भएको छ ।

संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकोले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा रहेको संघले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू