शुक्रबार, १८ सेप्टेम्बर, २०२६
13:54 | १८:३९

पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक, २०८१ र २०८२ का १६ कृति छनोट

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२६

लन्डन । प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘पहिचान पुरस्कार’का लागि पहिचान पुरस्कार कोषले वि.सं. २०८१ र २०८२ का उत्कृष्ट कृतिहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ। कोषमा दर्ता भएका कृतिमध्ये दुवै वर्षका लागि आठ–आठ गरी कुल १६ कृति छनोटमा परेका छन्।

वि.सं. २०८१ मा प्रकाशित कृतिमध्ये श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’, सुरज रानाको कविता सङ्ग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’, डा. चित्र माबोको कथा सङ्ग्रह ‘डोलीभर्ना’, कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’, शकुन आँसुको कविता सङ्ग्रह ‘नवयुगकी सुम्निमा’, जुनू रानाको कविता सङ्ग्रह ‘रातो नदी’, खुपेन सुनुवारको कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ र राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सर्टलिस्टमा परेका छन्।

त्यसैगरी वि.सं. २०८२ का लागि ललित विष्टको कथा सङ्ग्रह ‘उत्कर्ष’, केदार संकेतको कथा सङ्ग्रह ‘अन्तिम साँझ’, खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’, क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’, भुपिनको निबन्ध/नियात्रा ‘मध्यको उज्यालो’, राज बान्तावाको उपन्यास ‘माइला दमाई’, सीमा आभासको उपन्यास ‘महायुग’ र उमा सुवेदीको उपन्यास ‘परिधि’ उत्कृष्ट आठमा छनोट भएका छन्।

यसअघि वि.सं. २०८१ को ‘पहिचान सम्मान’ साहित्यकार तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलालाई प्रदान गरिएको थियो।

उनलाई नगद ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, सोही वर्ष पहिलोपटक प्रदान गरिएको ‘पहिचान युवा सम्मान’ गणेशकुमार राई ‘गीलु रातोस’लाई प्रदान गरिएको थियो। उहाँले नगद ५० हजार २०२ रुपैयाँ र ताम्रपत्र प्राप्त गरेका थिए।

पहिचान पुरस्कार कोषले अब सार्वजनिक सर्टलिस्टबाट वि.सं. २०८१ र २०८२ का लागि एक–एक उत्कृष्ट कृति छनोट गरी ‘पहिचान पुरस्कार’ प्रदान गर्ने जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू