बिहीबार, वैशाख १३, २०८१
14:00 | १८:४५

भदौ १ गतेबाट आन्तरिक र अन्तरराष्ट्रिय उडान खोलिने  

नेपाली लिङ्क जुलाइ २०, २०२०

तस्वीर-रोशन सापकोटा/रासस

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल (कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ ।

आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।

चार्टर फ्लाइटमार्फत भने पछिल्लो समय नेपाल लगायतका विभिन्न मुलुकका एयरलाइन्सहरुले उडान भर्दै आइरहेका छन् ।

चार्टर उडानबाट गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका ३० हजार भन्दा बढीको  उद्धार भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू