शुक्रबार, कार्तिक ७, २०७७
04:06 | ०८:५१

नेपालमा विपद्जन्य घटनाबाट कूल १५५ को मृत्यु, ५२ बेपत्ता

सम्भावित विपद्: क्षति रोक्न उच्च तयारी

रासस जुलाइ १७, २०२०

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा एक साताअघि बबई नदीमा आएको बाढीले बगाएका व्यक्तिको शव खोज्दै प्रहरी । तस्वीर- मेनका चौधरी/रासस

काठमाडौँ, २ साउन–मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्य गरी पहिराका कारण अकल्पनीय क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म ५२ जना बेपत्ता रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । विपद्मा परेर कूल २४९ घाइते छन् । उनका अनुसार अहिले पनि उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी र पुनस्थापनको काम जारी छ ।

मुख्यगरी चट्याङ, बाढी र पहिरामा यसरी मानवीय क्षति भएको हो । धेरै मानवीय क्षति पहिराले पुरयाएको छ । प्राधिकरणबाट प्राप्त विवरणानुसार पहिरामा परेर कूल १०२ जनाको ज्यान गएको तथा ४६ जना हराइरहेका छन् । कूल ८५ जना घाइते छन् । यस्तै बाढीमा परेर छ जनाले ज्यान गुमाएको, छ बेपत्ता भएको र तीन घाइते तथा चट्याङबाट ४७ जनाको मृत्यु तथा १६१ जना घाइते भएको पोखरेलले जानकारी दिए ।

गत जेठ ३१ पछि सबैभन्दा बढी पहिरो खसेको छ । सोही दिनदेखि मनसुन सक्रिय भएको थियो । मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिना अवधिमा मात्रै कूल १२० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा १२८ जना घाइते भएको तथ्याङ्क छ ।

उक्त अवधिमा पहिरामा परेर मात्रै १०० जनाले ज्यान गुमाएका छन् । बाढीमा परेर तीन र चट्याङबाट १७ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ । यसपटक नसोचेको क्षेत्रमा पहिरो खस्दा धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । जथाभावी सडक खन्ने, पानीको स्रोत व्यवस्थापन नहुने तथा एकै ठाउँमा धेरै पानी परेकाले पनि बाढीपहिराका घटना बढेको तथा भूकम्पले असर गरेकाले पहिरो खसेको भूगर्भविद् शिवकुमार बाँस्कोटाले बताए ।

यस वर्ष अहिलेसम्म कूल ६० जिल्लामा मनसुनजन्य विपद्का घटना भएको छ । त्यसमध्ये ३३ जिल्लामा मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म २५० भन्दाबढी विपद्का घटना भएको विवरणमा उल्लेख छ । जेठ ३१ गते पर्वतको दुर्लुङमा पहिरो खसेको थियो । त्यसमा परेर नौ जनाले अकालमै ज्यान गुमाए । असार ८ गते पाल्कापो सम्बोबारीमा पहिरो खस्दा चार जनाको मृत्यु भयो । त्यस्तै बझाङको केदारस्युँलगायत स्थानमा पहिरो जाँदा सात जनाको मृत्यु भएको थियो ।

असार अन्तिम साता मुलुकका विभिन्न जिल्लामा भारी वर्षा हुँदा धेरैले ज्यान गुमाए भने अझै धेरै बेपत्ता छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकका बाह्रबीसे र भोटेकोशीमा बाढी पहिरामा परेर दुई जनाको मृत्यु भयो भने अझै २० जना हराइरहेका छन् ।

म्याग्दीका धवलागिरि र मालिका गाउँपालिकामा बाढीपहिरो जाँदा २७ जनाको मृत्यु भयो भने चार जना अझै बेपत्ता छन् । यस्तै कास्की, जाजरकोट, लमजुङलगायत जिल्लामा पनि बाढी र पहिराले धनजनको क्षति पुरयाएको प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही साउन ४ देखि पुनःन्यूनचापीय रेखा नेपाल नजीक आउने भएकाले मनसुन सक्रिय हुने र मुलुकका विभिन्न जिल्लामा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने अनुमान गरिएको छ । त्यसैले प्राधिकरणले आवश्यक पूर्वसावधानी अपनाउन अनुरोध गरेको छ । उक्त मनसुन झण्डै चार दिन कायम रहने जनाइएको छ ।

सम्भावित विपद्: क्षति रोक्न उच्च तयारी
यही साउन ४ गते साँझदेखि मनसुनी वायु सक्रिय भई मुलुकका धेरै भागमा पानी पर्ने तथा कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान भएसँगै सरकारले सम्भावित घटनाबाट हुने क्षति रोक्न उच्च तयारी थालेको छ ।

सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रसमेत तुरुन्त परिचालन गर्न सक्ने गरी तयारीमा जुटेको छ । सबै सुरक्षा निकायलाई समेत आवश्यक तयारीमा राखिएको छ । गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुनै प्रकोप भइहालेमा कसरी हुन्छ कम भन्दा कम क्षति होस् भन्ने योजनाका साथ पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै पूर्वसावधानीका योजना निर्माण गरिएको छ ।

यसका लागि प्राधिकरणसहित खानी तथा भू–गर्भ विभाग, सिँचाई विभाग, जल तथा मौसम विज्ञान विभागले समन्वयात्मक रुपमा काम गरिरहेका छन् । यसरी चारवटै संस्था मिलेर बाढी र पहिराको विषयमा पूर्वानुमान गर्न सँगै काम गरेको पहिलो हो । विगतमा यसरी समन्वय हुन सकेको थिएन ।

जिल्लाका सरोकारवाला निकायसँग समेत समन्वय गरी आवश्यक तयारीमा रहन भनिएको प्राधिकरणक प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । पोखरेलले सर्वसाधारणसँग अपिल गर्दै भने, “त्यस समयमा जोखिम क्षेत्र हेरेर सुरक्षित स्थानमा सर्न विनम्रतापूर्वक अनुरोध छ, सुरक्षित ठाउँ भए पाहुना लागेरै भए पनि जानुहोला ।”

सोही विषयमा शुक्रबार गृह मन्त्रालयमा चारवटै निकायले संयुक्त पत्रकार सम्मेलनमार्फत यही साउन ४ देखि ७ गतेसम्म उच्च सावधानीमा रहन सर्वसाधारणमा अनुरोध गरेको छ । विपद्को पूर्व तयारीस्वरुप यसवर्ष बिभिन्न जोखिम मानिएका १४ जिल्लामा २-२ का दरले मोटरबोटसमेत पठाइसकिएको छ । आवश्यक यन्त्र उपकरण (डोजर लोडर, स्काभेटर) तयारी अबस्थामा राखिएका छन् । उद्धार तथा राहत सामग्रीलाई समेत ठाउँठाउँमा बन्दोबस्त गरिएको र कतै बाँध लगाउनु परे जालीसहितका सामग्री तयारी हालतमा राखिएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सुरजकुमार बैद्य साउन ४ देखि भारतमा रहेको न्यून चापीय रेखा नेपाल नजिक आउने हुँदा भारी वर्षाको सम्भावना रहेको बताउंछन् । उनका अनुसार साउन ७ गते उक्त रेखा नेपालमाथि पर्नेछ । त्यो बेला ठाउँ-ठाउँमा भारी वर्षा हुनेछ । साउन ८ गतेबाट विस्तारै दक्षिण जाने जनाइएको छ ।

प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषत भन्दा बढी अर्थात २३० प्रतिशत पानी परिसकेको छ । प्रि-मनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ । मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले यो पटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने विज्ञको भनाइ छ ।

भूगर्भविद् शिव बाँस्कोटा साउन ४ पछि भने पुरानो पहिरो सक्रिय हुने, भूकम्पले क्षति पुरयाएको र धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुने बताउंछन् । उनका अनुसार मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकै पटक बगेर पहिराको रुप पनि लिन सक्नेछ ।

विगतमा गरिएको अध्ययनमा नेपालको जोखिम क्षेत्रमा नै घरहरु रहेको देखिन्छ । पछिल्लो पटक गएको पहिरो पनि जोखिम क्षेत्र भनेर पहिचान भएको स्थानमै खसेको बाँसकोटाले बताए । “मुल तथा तल्लो क्षेत्रमा पानी एक्कासी बढ्यो, धमिलो आउन थाल्यो, मुल सुक्यो भने पनि जमिन चलायमान रहेछ भनेर बुझ्नुपर्छ र तत्कालै सुरक्षित स्थानमा सर्नुपर्छ”, उनले सावधानी अपनाउन आग्रह गर्दै भने ।

सिँचाई विभागका सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादवले कुनै ठाउँमा नदीले क्षति पु¥यायो भने तत्काल निर्माण गर्न सक्नेगरी जाली, बाँस, बोरा, डोरी सबैको आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए ।

भारतको बाँधले डुबान

तराईको सीमावर्ती क्षेत्रमा भने भारतले बनाएको सडकसहितका बाँधले कतिपयस्थान डुबानमा पार्ने गरेको छ । कतिपय स्थानमा भारतले सम्झौताअनुसारको तटबन्धसमेत बनाएको छैन । कोभिड–१९ का कारण नेपाल भारतको संयुक्त समितिको बैठक बस्न नसकेकाले केही निर्णय गर्न सकिएको छैन । नेपालतर्फ भने एक हजार २६ किलोमिटर तटबन्ध बनिसकेकाले धेरैजसो स्थानमा यसपटक डुबान नहुने यादवले बताए । तर सावधानी अपनाउन भने उनले स्थानीयलाई अनुरोध गरेका छन् ।

मौसम विज्ञान विभागका अनुसार साउन ४ गतेपछि मुख्यगरी प्रदेश नं १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदूपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुनेछ ।

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, नारायणी, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ ।

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने

सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ ।

नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी सीमावर्ती क्षेत्रमा सडक तथा अन्य संरचना खडा गरिएका कारण वर्षाको समयमा ठूलो क्षति हुने गरेको छ । यस्तै पानीको प्राकृतिक बहाव रोकिने गरी निर्माण भएका संरचनाले पनि सीमावर्ती क्षेत्रमा समस्या पर्दै आएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार मानव निर्मित संरचनाका कारण सीमावर्ती क्षेत्रमा परेको समस्या समाधानका लागि पहल थालिएको छ । सोही पहलअनुसार नै भारतसँग वार्ता गर्न लागिएको हो । ऊर्जामन्त्री वर्षमान पुनले आज मन्त्रालयका उच्च अधिकारीलाई समस्या समाधानका लागि तत्काल पहल थाल्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक तत्काल आयोजना गर्न भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

दुवै देशका सह–सचिवस्तरीय उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन् । “बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ”, मन्त्री पुनले भने, “समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर बैठक आयोजना गर्नुस् ।”

उनले मनसुनको समयमा बाढी पहिराको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिएका छन् । “बाढी, पहिरा र डुबानका कारण मानवीय तथा अरू क्षति नहोओस् भन्नेमा सचेत भएर काम गर्नुस्” मन्त्री पुनले भने, “अकल्पनीय अवस्था आएमा जनशक्ति र साधन स्रोतको समेत कमी हुनुभएन ।”

उनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधनस्रोतको कुनै कमी हुन नदिने स्पष्ट गर्दै आपतकालीन अवस्थामा मन्त्रिपरिषद्बाट निर्णय गरेर भए पनि उद्धार तथा प्रकोप रोकथाममा लाग्न कर्मचारीलाई आग्रह गरे । बाढी पहिराको अवस्थाबारे जिल्लास्थित मन्त्रालयअन्तर्गतका निकायबाट सूचना सङ्कलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि उनको निर्देशन छ ।

नियमित कार्यतालिका अनुसार संयुक्त समितिको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिँचाइ मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले जानकारी दिए । “नियमित बैठक हरेक वर्षको नोभेम्बरमा बस्ने कार्यतालिका हो” सचिव श्रेष्ठले भने, “मन्त्रीज्यूबाट निर्देशन भएअनुसार हामी तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गर्छौं ।”

सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको जानकारी दिए । छलफलमा सचिव श्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उप–महानिर्देशक प्रदीप थापालगायतले बाढी, पहिरा र डुबानको अवस्थाबारे जानकारी गराएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू