बिहीबार, ११ जुन, २०२६
23:56 | ०४:४१

बेलायतमा आप्रवासीलक्षित हिंसात्मक घट्नाप्रति गम्भीर चासो

नेपाली लिङ्क जुन ११, २०२६

तस्विर- इपीए

लन्डन – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन यूके च्याप्टरले बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई संयमित, सचेत र सतर्क रहन आग्रह गरेको छ।

पछिल्ला केही दिनयता बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्डको बेलफास्ट क्षेत्रमा आप्रवासीलक्षित हिंसात्मक घटनाहरूप्रति गम्भीर चासो र चिन्ता व्यक्त गर्दै फाउन्डेसनले यस्तो अपील गरेको हो।

फाउन्डेसनका अध्यक्ष डा सम्पूर्णानन्द ढुंगाना र महासचिव इ. रामराज शर्माद्वारा जारी संयुक्त वक्तव्यमा बेलायतलाई विभिन्न जाति, धर्म, भाषा, संस्कृति तथा समुदायका मानिसहरू मिलेर बसोबास गर्ने विश्वकै उत्कृष्ट बहुसांस्कृतिक समाजमध्ये एक भएको उल्लेख गरिएको छ । यद्यपि समय–समयमा यस्ता दुर्भाग्यपूर्ण घट्नाहरू देखापर्नु दुःखद भएको वक्तव्यमा जनाइएको छ ।

वक्तव्यमा बेलायतमा कानुनको शासन, मानव अधिकारको सम्मान तथा सार्वजनिक सुरक्षालाई उच्च प्राथमिकता दिइँदै आएको उल्लेख गर्दै सम्पूर्ण नेपाली समुदायलाई स्थानीय कानुन, नियम तथा सम्बन्धित निकायका निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

फाउन्डेसनले कुनै पनि हल्ला, अफवाह वा अपुष्ट सूचनाको पछि नलाग्न तथा स्थानीय काउन्सिल, सुरक्षा निकाय र आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ। आवश्यक परेमा स्थानीय प्रहरी, सुरक्षा निकाय वा सम्बन्धित काउन्सिलसँग सम्पर्क गरी सहयोग लिन पनि नेपाली समुदायलाई सुझाव दिइएको छ।

विशेषगरी अध्ययन, रोजगारी वा अन्य भिसामा हालै नेपालबाट बेलायत आएका नेपालीहरूलाई थप सतर्कता अपनाउन र स्थानीय परिस्थितिबारे जानकारी राख्न फाउन्डेसनले आग्रह गरेको छ ।

वक्तव्यमा कानुनको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै छालाको रंग, जातीयता, राष्ट्रियता, धर्म वा अन्य कुनै पहिचानका आधारमा गरिने विभेद, घृणा वा हिंसात्मक गतिविधि कानूनविपरीत र अस्वीकार्य रहेको बताइएको छ ।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन यूके च्याप्टरले सबै प्रकारका भेदभाव, घृणा र हिंसात्मक गतिविधिको स्पष्ट रूपमा विरोध गर्दै नेपाली समुदायलाई शान्त, जिम्मेवार र कानुनसम्मत व्यवहार अपनाउन पुनः आग्रह गरेको छ।

हेर्नोस् जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन यूके च्याप्टरको अपीलः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू