बिहीबार, वैशाख १३, २०८१
09:38 | १४:२३

नेपालीको उद्धारका लागि तेस्रो चरणको चार्टर्ड उडान शुरु

जुलाई १५ देखि २२ सम्मको तालिका सार्वजनिक

रासस जुलाइ १५, २०२०

काठमाडौँ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरु गरेका छन् ।

पछिल्लो चरणमा ४२ उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका छ ।

उडान तालिकाअनुसार आज नेपाल एयरलाइन्सले दुबईमा दुई उडान गर्नेछ । हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ । उद्धार उडानका लागि नेपाली एयरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ । यो अवधिमा एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् ।

यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन् ।

यसैबीच विदेशबाट नेपालीको उद्धार गरि स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ ।

त्यस्तै विदेशमा कोरोना भाईरस संक्रमणमा परेका नेपाली नागरिकहरुमध्ये ९२ प्रतिशत संक्रमण मुक्त भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

विभिन्न एयरलाइन्सका १ सय ४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो । गत जेठ मध्यदेखि सुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५ सय २७ सय जनाको उद्धार भएको छ ।

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र परेका सहित पाँच हजार दुई सय ४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट चार हजार ३० जना, कतारबाट दुइ हजार ८ सय ८४ जनाको उद्धार गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू