शनिबार, वैशाख ८, २०८१
15:27 | २०:१२

बर्दीमा दाग लगाए निर्मम कारवाही: नवनियुक्त प्रहरी महानिरीक्षक थापा

रासस जुलाइ ९, २०२०

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएकाले सरकारले क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

गृह मन्त्रालयमा विहीबार बिहान आयोजित एक समारोहका बीच दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गरे ।

कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उनले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए । ‘मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, संगठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ’, उनले भने ।

प्रहरी जनतामा घुलमिल हुने संगठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा गृह सचिव न्यौपानेले जोड दिए । प्रहरी संगठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालना प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उनले बताए । उनले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश समेत गरे ।

गृह सचिव न्यौपानेले तीन तहको राज्य संरचनाअनुसार प्रहरी समायोजन गर्ने अभिभारा प्रहरी महानिरीक्षकसामु रहेको बताए । सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएको उल्लेख गर्दै उनले मूल्यांकनमा अब्बल व्यक्ति नै छनोट हुने प्रष्ट्याए ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक थापाले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाए ।

प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने धारणा उनको थियो । उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गरे । उनले भने, ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारवाही गरिन्छ ।’

नवनियुक्त महानिरीक्षक थापाले जीवनमै नभोगिएको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले संक्रमण रोक्न सिक्दै अघि बढ्ने बताए । प्रहरी समायोजनलाई सही निष्कर्षमा पुरयाउने प्रतिबद्धतासमेत उनले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू