बुधबार, वैशाख १२, २०८१
20:04 | ००:४९

विभिन्न मुलुकबाट नौ सय नेपाली फिर्ता

रासस जुलाइ ८, २०२०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौं आएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । सोही एयरलाइन्सले दोहाबाट १४८ यात्रु काठमाडौं ल्याएको छ । थप नेपाली ल्याउन नेपाल एयरलाइन्स आज राति दोहा र क्वालालम्पुर उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५४ र क्वालालम्पुरबाट १५१ यात्रुलाई नेपाल ल्याएको छ । आजै कतार एयरवेजले दोहाबाट १७७ र मालिन्दो एयरले क्वालालम्पुरबाट १७६ यात्रुलाई नेपाल ल्याएको छ । उक्त एयरलाइन्स दमाम र कुवेतमा चार्टर्ड उडान गर्ने तालिका छ ।

बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन् । हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौं ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ । त्यस्तै नेपाल एयरलाइन्सले क्वालालाम्पुर, रियाद, दोहा र दुबईबाट यात्रु ल्याउने छ ।

विभिन्न मुलुकबाट नेपालीको उद्धार उडानका लागि नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले चार्टर्ड उडान गरिरहेका हुन् ।

आन्तरिकमा १३ उडान

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ हेलिकोप्टरसहित कूल १३ उडान भएका छन् । तारा एयर र समिट एयरले लुक्ला चार्टर्ड उडान गरेका छन् भने यति एयरको जहाजले जनकपुरमा उडान गरेको छ ।

समिटकै दुई जहाजले सिमिकोटमा उडान गरेको छ । सिम्रिकको हेली जुम्ला गएको छ । मनाङ एयरको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङबोचे उडेको थियो । एयर डाइनेस्टीको हेलिकोप्टरले दुई यात्रु बोकेर स्याङ्जा गएको थियो । सोही कम्पनीको हेलिकोप्टरले पांच यात्रु बोकेर सोलुखुम्बु गएको छ । सिम्रिकले संखुवासभा र गोरखा मनाङ एयरको हेलिकोप्टरले उडान गरेको छ । मनाङ एयरको हेलिकोप्टरले तेह्रथुम र कैलाश एयरले मुस्ताङबाट चार्टर्ड उडान गरेको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू