बुधबार, वैशाख १२, २०८१
02:12 | ०६:५७

नेकपा र कांग्रेसबीच नागरिकता विधेयकमा सहमति जुटाउने प्रयास

रासस जुन १८, २०२०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताबीच संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सांझ नागरिकता विधेयक र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारेमा छलफल गर्न कांग्रेसका शीर्ष नेताहरुलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए ।

प्रधानमन्त्री ओलीले नागरिकता विधेयक र एमसीसी बारेमा कांग्रेससंग छलफल गर्न बैठक बोलाएको र आजको बैठक विशेष गरी नागरिकता विधेयकमा केन्द्रित रहेको बैठकमा सहभागी कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । एमसीसीका बारेमा प्रधानमन्त्रीले छिट्टै अर्को बैठक बोलाउने र आफूहरुलाई तयार भएर आउनुहोला भनेको निधिले बताए । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले उक्त विधेयक सम्बन्धमा समितिमा भइरहेको छलफल र सहमतिका बारेमा जानकारी गराएकी थिइन् ।

कांग्रेस नेताहरुले विधेयकको वैवाहिक अङ्गिकृत नागरिकताको प्रावधान सम्बन्धमा हाल विद्यमान कानूनको व्यवस्था नै राख्नुपर्ने धारणा राखेका थिए । कांग्रेस नेताहरुले विद्यमान कानूनमा परिवर्तन गरे संवैधानिक व्यवस्था र हालको कानून विपरीत हुने र वैवाहिक अङ्गिकृत नागरिकताको विद्यमान व्यवस्था विवाह गरेर आउने महिलाले पाउने अधिकार भएको तर्क गरेका थिए ।

उपसभापति निधिले कांग्रेसको आधिकारिक धारणा राख्दै बैवाहिक अङ्गिकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानूनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको तर्क गरेका थिए । साथै उनले यसमा सहमति गरेर जानुपर्नेमा जोड दिएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, नेताहरु सुवासचन्द्र नेम्वाङ र भीम रावल तथा कांग्रेसका तर्फबाट उपभापति निधि, नेताहरु कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, राधेश्याम अधिकारी सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू