बुधबार, वैशाख १२, २०८१
01:46 | ०६:३१

प्रश्नै प्रश्नको भारी 

डा. बच्चुकैलाश कैनी जुन ६, २०२०

डा. बच्चुकैलाश कैनी

अहिले विश्व कोभिड-१९ को चपेटामा छ । कोभिड-१९ भाइरसले विश्वमा स्वास्थ्य, आर्थिक, सामाजिक र राजनीतिक समस्या खडा गरेको छ । विश्वलाई नै तहसनहस पार्ने यो कोभिड १९ नयाँ भाइरस भएको हुनाले यसबारेमा धेरै कुरा अनुत्तरित छन् । कोभिड १९ को उत्पत्ति, यसको संक्रमण, उपचार र रोकथामको बारेमा मानिसलाई धेरै कुरा थाहा छैन् । मानिसको जीवन कहिले सामान्य हुने हो वा कहिलेसम्म कोभिड-१९ को कारण विश्वले संकट भोग्नु पर्ने हो, यी प्रश्नहरु पनि अनुत्तरित नै छन् । कोभिड-१९ को बारेमा मात्रै हैन यो विश्वमा यति धेरै कुराहरु छन्, जसको बारेमा मानिसलाई ज्ञान नै छैन वा अति कम ज्ञान वा जानकारी छ ।

ज्ञान र जिज्ञासा कहिले नसकिने कुरा हुन् । मानिसको स्वभाव नै जिज्ञासु हुन्छ । यदि जिज्ञासा नै नहुने हो भने विश्वमा बिज्ञान, प्रविधि, विकास, मानव सभ्यता आदिले यति धेरै खुड्किलो पार गर्ने थिएन । त्यस्तै यौ संसार पनि जिज्ञासा नै जिज्ञासाले भरिएको छ । एउटा कुराको समाधान भएपछि र्को प्रश्न तेर्सिन्छ । अनि प्रश्नै प्रश्नको यो संसारमा कतिपय कुराको उत्तर सहज छ भने धेरै कुराको उत्तर असहज मात्रै हैन असम्भव पनि छ ।

जिज्ञासा नै प्रश्नको मूल श्रोत हो । केही कुरा जान्न, बुझ्न र थाहा पाउन जिज्ञासु हुन जरुरी हुन्छ । कुनै पनि प्रश्नको उत्तर आफैं आउँदैन । त्यसको बारेमा जिज्ञासु हुनु, खोज्नु, जान्नु र सोध्नु जरुरी हुन्छ । मानिसको जीवनमा सफल हुन जिज्ञासु हुनु पर्छ । जिज्ञासु हुनु भनेको कुनै पनि कुराप्रति खुला हृदयले प्रश्न राख्नु हो, कुनै कुरा प्रति वा कसैप्रति पूर्वाग्रह राख्नु हैन ।

जसले आफ्नो मनदेखि केही जिज्ञासा राखेर केही सिक्ने प्रयास गर्छ, उसले छिट्टै सिक्न सक्छ । मानिसको विचार जिज्ञासाबाट उत्पन्न हुन्छ। जिज्ञासाले नै मानिस भित्रको ज्ञानको ज्योती बल्छ, मानिसले केही हदसम्म आफूले आफैलाई चिन्छ, संसारलाई चिन्छ र आफ्नो अस्तित्व प्रमाणित गर्छ । अर्थात, आफूलाई जीवन्त राख्ने हो भने आफू भित्रको जिज्ञासालाई जीवन्त राख्नु पर्छ ।

जताततै प्रश्न नै प्रश्न भए पनि ठिक प्रश्न सोध्न सक्नु मानिसको ठूलो क्षमता हो । भनिन्छ, उत्तर दिनुभन्दा प्रश्न सोध्नु निकै गाह्रो काम हो । धेरै मानिस आफ्नो मनमा धेरै प्रश्न भए पनि ति प्रश्नहरु अरु मान्छेसंग सोध्न सक्दैनन् । केही मानिस प्रश्न सही ढंगले राख्न सक्दैनन्। केही मानिस भने कुनैपनि कुरामा प्रश्न नै नगरी यथास्थितिलाई स्वीकार गर्छन् र जीवनलाई आफ्नै गतिमा चलाउंछन् । केही मानिस भने केवल प्रश्नको लागि प्रश्न सोध्ने पनि हुन्छन् । यिनलाई न आफ्नो प्रश्नको गाम्भिर्यतासंग मतलब छ, न प्रश्नको सही उत्तर पाउनुसंग नै मतलब छ ।

कतिपय अवस्थामा हाम्रो धर्म, संस्कृति, समाज र मान्यताले हामीलाई प्रश्न गर्न वा सोध्न वन्चित गराउँछ । मनका कुरा मनमा राख्नु पर्ने अवस्था पनि आउँछ । आफू भन्दा ठूलाले गरेका कतिपय कुरा हामी चुप लागेर सुन्नु पर्ने अवस्था आउँछ । धर्मका बारेमा बोल्न वा प्रश्न गर्दा सयौं पटक सोच्नुपर्ने हुन सक्छ । सरकार वा सरकारी निकायहरुले लागु गर्ने कतिपय नियम कानूनमाथि प्रश्न गरे पनि नगरे पनि केही नहुन सक्छ । अर्थात, प्रश्न राख्नुको कुनै अर्थ नै हुँदैन ।

जसले आफ्नो जीवन र भविष्यको बारेमा सही प्रश्न सोध्न सक्छ र त्यसको उत्तर पनि सही नै पाउँछ, उही मानिस सजिलै आफ्नो जीवनमा सफल हुन्छ । साँचो अर्थमा भन्ने हो भने मानिसको जीवन धेरै प्रश्न र केही उत्तरको संगालो हो । मानिसलाई आफ्नै बारेमा, आफ्नो क्षमताको बारेमा र आफ्नै परिवारका सदस्यको बारेमा धेरै थाहा नै हुँदैन ।

मानिसको जीवनमा र विश्वमा महशुस हुने र नहुने, देखिने र नदेखिने धेरै कुराहरु छन् । महशुस नहुने र नदेखिने कुराको बारेमा थाहा नहुनु स्वाभाविक हो । हामी सबैले पढेको, जानेको र सुनेको एवं हाम्रै शरीरभित्र हुने मानिएको हाम्रै आत्माको बारेमा मानिसलाई के कति नै थाहा छ ? विश्वमा करौडौ मानिस बिभिन्न धर्म मान्छन् र भगवानको पूजा आराधना गर्छन् । मानिसले दिन दिनै पूजा गर्ने भगवानको बारेमा मानिसलाई कति थाहा छ ? हामी बस्ने यो ब्रह्माण्डको बारेमा हामीलाई कति थाहा छ ? मानिसको आफ्नै शरीरको बारेमा कति थाहा छ ?

मानिसको स्वास्थ्य निकै जटिल कुरा हो । मानिसको स्वास्थ्य र उपचारको बारेमा जतिसुकै अनुसन्धान गरेपनि र जतिसुकै विज्ञान र प्रविधिको विकास गरेपनि नसकिने कुरा हो । जीवन विज्ञान, स्वास्थ्य विज्ञान, औषधि विज्ञान, वातावरण, जीव, जगत, प्रकृति आदि एक अर्कोमा जोडिएका विषयहरु हुन् । साथै, यी सबै विषय अन्तर सम्बन्धित छन् । त्यसैले जटिल पनि छन् । कुनै पनि बिषय जति जटिल हुन्छ, उति धेरै प्रश्नहरु खडा हुन्छन् । जति धेरै प्रश्नहरु आउँछन्, उति उत्तर पाउन सहज हुँदैन।

यो प्रश्नै प्रश्नको हाम्रो जीवन र संसारमा प्रश्न बिना उत्तर असम्भव छ । हामीलाई थाहा छ, सबै प्रश्नको उत्तर सम्भव छैन् । तरपनि प्रश्न बिना जीवन छैन् । त्यसैले हामी पनि जीवन, संसार, जीव, जगत, ज्ञान, विज्ञान, प्रविधि, स्वास्थ्य, वातावरण, समाज, परिवार आदि सबैप्रति जिज्ञासु बनुँ र आफ्नो प्रश्नको उत्तर पाउन प्रयास गरुँ । कोभिड-१९ को बारेमा अहिले धेरै प्रश्न अनुत्तरित छन् । आशा छ, मानिसको जिज्ञासु मन, विज्ञान, प्रविधि, अनुसन्धान, श्रोत र साधनले निकट भविष्यमा कोभिड-१९ को बारेमा हाम्रो सबै प्रश्नहरुको उत्तर मिल्नेछ र कोभिड-१९ संसारबाट सदाका लागि बिदा हुनेछ ।

(डा. कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा वरिष्ठ व्यवस्थापक र आर्डेंन विश्वविद्यालय, लण्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह-प्राध्यापकको रुपमा कार्यरत छन् )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू