अमेरिकाबाट पुनःस्थापनाका लागि थप तीन करोड १० लाख डलर सहयोग


काठमाडौँ, असोज ७ गते । नेपालमा भदौ १० गते गएको हिमबाढीपछिको पुनःस्थापनाका लागि अमेरिकी सरकारले थप तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार न्युयोर्कमा भेटवार्ता गर्ने क्रममा थप सहयोग घोषणा गर्नुभएको हो ।
उपविदेशमन्त्री हुकरले भोटेकोशी हिमबाढीमा बेपत्ता भएका करिब ७० जना अमेरिकी नागरिकलगायत प्रभावित सबैप्रति अमेरिकी सरकारका तर्फबाट सहानुभूति व्यक्त गर्नुभएको छ ।
प्रभावित क्षेत्रमा स्थायी पुल निर्माणका लागि एक करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि अमेरिकी सरकारले जनाएको विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपालमा आवश्यक पुल अमेरिकी कम्पनीबाट खरिद गरी बाढी प्रभावित क्षेत्रमा स्थापना गरिनेछ । यसबाट सङ्कटको अवस्थामा यातायात पूर्वाधारको पुनःस्थापना हुनुका साथै क्षेत्रीय सम्पर्क सञ्जाल बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
परराष्ट्रमन्त्री खनालसँगको भेटमा उपविदेशमन्त्री हुकरले बाढी प्रभावित समुदायका लागि खानेपानी, स्वच्छता तथा सरसफाइ, अस्थायी आश्रयस्थल, सुरक्षा, जीविकोपार्जन तथा चिसो मौसममा आवश्यक सामग्रीका लागि थप ८० लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले दीर्घकालीन विपत् पुनःस्थापनाका लागि थप प्रभावकारी सहयोग पुर्याउन एक करोड ३० लाख अमेरिकी डलर बराबरका अत्याधुनिक ड्रोन उपलब्ध गराउने जनाएको छ ।
यस सहयोग घोषणासँगै नेपालको हिमबाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभका लागि अमेरिकाको कुल सहयोग करिब साढे पाँच अर्ब रुपियाँ पुगेको विदेश मन्त्रालयले जनाएको छ ।
सहयोगको सर्वाधिक आवश्यकता भएका स्थान पहिचान गरी त्यहाँ सहायता पुर्याउन अमेरिकाले नेपाल सरकारसँग समन्वय र सहकार्य जारी राख्ने पनि विदेश मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


