बिहीबार, वैशाख १३, २०८१
18:07 | २२:५२

यातायात मजदुरको कोभिड-१९ परीक्षण गर्न माग

रासस मे २९, २०२०

फाइल तस्विर

काठमाडौं । नेपाल यातायात मजदुर संघले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न यातायात क्षेत्रका मजदुरलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) को व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष धर्मराज भण्डारीले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ मा देशभर बन्दाबन्दी भएको अवस्थामा अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए 

‘अत्यावश्यक सेवा एम्बुलेन्स, इन्धन, खाद्यान्न ढुवानीमा कार्यरत यातायात मजदुरलाई  कोरोना निःशुल्क परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ’, उनले भने । संघले अत्यावश्यक सेवामा कार्यरत यातायात मजदुरलाई कोरोना संक्रमण हुनेवित्तिकै पाउने गरी सरकारबाट रु दुई लाखको बीमा गर्ने व्यवस्था गर्न माग गरेको छ ।

अध्यक्ष भण्डारीले यातायात मजदुरको कार्यस्थलमा मृत्यु भएको खण्डमा उपदानसहितको पर्याप्त क्षतिपूर्ति तथा अन्य सुविधाको व्यवस्था गर्नुपर्ने बताए । सरकारले सबैखाले स्वास्थ्य तथा सुरक्षाको उपायका बारेमा कार्ययोजना तथा प्रक्रिया निर्माणको क्रममा मजदुरसँग परामर्श तथा सहभागिता सुनिश्चितता गर्नुपर्ने उनीहरुको माग छ । 

संघले मुलुकको यस विषम परिस्थितिमा यातायात मन्त्रालयको समन्वयमा यातायात व्यवसायी, यातायात क्षेत्रको ट्रेड युनियनलगायतको सहभागितामा संघीय स्तरमा तथा प्रदेशमा प्रदेशस्तरीय समिति गठन गर्न मागसमेत गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू