शनिबार, वैशाख ८, २०८१
11:25 | १६:१०

सरकार गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउनमा केन्द्रित: प्रधानमन्त्री ओली

नेपाली लिङ्क मे २८, २०२०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताएका छन्। 

लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको उनको भनाइ छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ ।’

जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको ईच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था नै गणतन्त्र भएको चर्चा गर्दै  संविधान र कानूनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन नसक्ने बताएका छन् ।  

शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले साँचो अर्थमा जनता सार्वभौम बनेको दिनका रूपमा गणतन्त्र दिवस इतिहासको महत्वपूर्ण र अविस्मरणीय रहने बताएका छन् । 

गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कार्यमा सरकारका गतिविधि केन्द्रित रहेको उनको भनाइ छ । गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली भएकाले महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन नसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् । 

जुनसुकै शासन प्रणाली संस्थागत हुन्, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै प्रधानमन्त्रीले संघीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्दै जनताको सेवा र विकास निर्माण अगाडि बढेको उल्लेख गरेका छन् । 

कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अनुचित हुने भन्दै उनले  इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि नसक्ने दाबी गरेका छन् । 

कोरोना महामारीविरुद्धको कठिन संघर्षमा नेपाली जुधिरहेको बताउंदै प्रधानमन्त्री ओलीले कोरोनाको चुनौतीलाई परास्त गरिछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू