शुक्रबार, २५ सेप्टेम्बर, २०२६
23:33 | ०४:१८

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२६

लन्डन । भूपू गोर्खा अभियन्ता तथा अनसनकारी ज्ञानराज राईले गोर्खा आन्दोलनले ठोस उपलब्धि हासिल नगरेसम्म भोजभतेर, मनोरञ्जन, उत्सव तथा राजनीतिक दल वा संगठनका सभा–सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राईले गोर्खा तथा उनीहरूका सन्ततिले पाउनुपर्ने अधिकार प्राप्त भएको अनुभूति नभएसम्म यस्ता कार्यक्रममा सहभागी नहुने बताएका हुन्।

उनले भनेका छन्, “अब उप्रान्त गोर्खा आन्दोलन सफल भयो र गोर्खा साथै सन्ततीहरूले ढिलै भए पनि पाउनैपर्ने अधिकार पाए भन्ने महसुस नभएसम्म कुनै भोजभतेर, मनोरञ्जन, उत्सव र राजनीतिक पार्टी वा संगठनका सभा–सम्मेलनमा भाग लिने छैन।”

तर व्यक्तिगत तथा पारिवारिक समस्या समाधान गर्नुपर्ने अवस्था, गोर्खा आन्दोलनसम्बन्धी छलफल, कल्याणकारी कार्य तथा समुदायको हितका लागि गरिने मानवीय कार्यमा भने आफू निरन्तर सक्रिय रहने उनले स्पष्ट पारेका छन्।

गोर्खा हकहितका लागि आवश्यक परे आफ्नो क्षमताको पूर्ण उपयोग गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दै राईले आफ्नो सन्देशको अन्त्यमा ‘आयो गोर्खाली’ भन्ने नारा राखेका छन्।

बेलायती सेनाबाट सेवा निवृत्त गोर्खाहरूले समान पेन्सन तथा सुविधा, गोर्खा र उनीहरूका परिवारका लागि ब्रिटिश समकक्षसरह स्वास्थ्य सुविधा, विगतमा जागिर कटौतीमा परेकाहरूका लागि उचित क्षतिपूर्ति तथा विधवाहरूलाई समान पेन्सनलगायतका माग उठाउँदै आएका छन्।

यिनै विषयलाई लिएर भूपू गोर्खा समुदायले बेलायत सरकारसमक्ष दशकौँदेखि विभिन्न चरणमा आन्दोलन, वार्ता तथा अभियान सञ्चालन गर्दै आएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू