शुक्रबार, वैशाख १४, २०८१
07:38 | १२:२३

गणतन्त्र दिवसमा राष्ट्रपति र उपराष्ट्रपतिले दिए यस्तो सन्देश

नेपाली लिङ्क मे २८, २०२०

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन आह्वान गरेकी छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई हार्दिक बधाई एवम्  सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

सन्देशमा राष्ट्रपतिले भनेकी छन्, ‘आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।’ 

सदाकाल स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने पूर्वजहरूको योगदान स्मरण गर्दै राष्ट्रपतिले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अभिप्रेरित भइ राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन आह्वान गरेकी छन् । 

कोरोना भाइरसको संक्रमणका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्दै उनले संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन् ।  

ऐतिहासिक गणतन्त्र दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा राष्ट्रपतिको छ ।  

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड-१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र प्राप्तिका लागि जस्तै  देशको  भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू