शुक्रबार, चैत १६, २०८०
11:14 | १६:५९

कतारका नेपालीलाई कतारी सरकारबाट डेढ करोडको खाद्यान्न सहयोग

रासस मे २२, २०२०


काठमाडौँ । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करिब एक करोड ६० लाख रुपिया) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनएले जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार सो खाद्यान्न सरकारले संस्थाको कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सक्रियतामा नेपाली श्रमिकलाई वितरण भइरहेको जानकारी दिए ।

एनआरएनए सचिव आरके शर्माले कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत सात हजार पोका खाद्यान्न संघलाई दिएको बताए ।

कतारमा करीब तीन लाख ५० हजार नेपाली रहेको अनुमान छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले बिहीबार प्रकाशन गरेको सूचनामा पछिल्लो २४ घण्टामा पाँच हजार ४५ जनामा जाँच गर्दा थप एक हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको जनाइएको एनआरएनए कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले बताए ।

तीमध्ये ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको मुक्तदाले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू