बुधबार, वैशाख १२, २०८१
17:22 | २२:०७

कोरोनाबाट मृत्यु हुने महिलाको नवजात शिशुलाई गरियो ‘डिस्चार्ज’

रासस मे २२, २०२०

काभ्रेपलाञ्चोक । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको ‘पिसीआर रिपोर्ट’ पनि ‘नेगेटिभ’ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज’ गरिएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ धुलिखेल अस्पतालमा पुर्याइएको केही समयपछि नै मृत्यु भएको थियो ।

मृतकको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले जानकारी दिए । उनका अनुसार शुक्रबार नै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको छ । यसअघि मृतक महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसन कक्षमा राखी उपचार भइरहेको निर्देशक डा माकजुले बताए ।

निर्देशक डा माकजुका अनुसार शिशुलाई शुरुका दिनमा हल्का जण्डिस देखिएको थियो । त्यस्तै, शरीरमा आएका स-साना बिमिरा दैनिकरूपमा बालरोग विशेषज्ञको निगरानीपछि निको भएकाले ‘डिस्चार्ज’ गरिएको हो । शिशुको दुईपटक र मृतक महिलाको आफन्तको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वारेन्टिनमा राख्न र क्वारेन्टिनबाट डिस्चार्ज गर्नुपूर्व आरडिटी गर्न सुझाव दिएको छ । ‘यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड-१९ का लक्षण देखापरे मात्र पिसीआर परीक्षण दोहोर्याउनुपर्ने हुन्छ’, निर्देशक डा माकजुले भने । उनका अनुसार १० दिनकी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएलगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वाब संकलन गरी सावधानीपूर्वक आइसोलेसनमा राखिएको थियो ।

मृतकका श्रीमान्का अनुसार वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि उनीलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बाह्रबिसेस्थित अस्पतालमा आरडिटीमा कोरोना भाइरस संक्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गत शनिबार साँझमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो ।

मन्त्रालका अनुसार कोरोनाबाट मृत्यु हुने उनको केस नै नेपालमा पहिलो घटना हो । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू