शुक्रबार, चैत १६, २०८०
19:21 | ०१:०६

दुवै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित

रासस मे १९, २०२०

काठमाडौँ । संसदका दुवै सदनबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७७-७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ-आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । सभामुखले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

यस्तै, राष्ट्रियसभाको मंगलबारको बैठकले पनि आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो । कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू