मंगलबार, मंसिर १६, २०७७
05:04 | १०:४९

पहिलो पटक कोरोना पुष्टि भएपछि गुल्मीमा त्रास

रासस मे १८, २०२०


गुल्मी । पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास देखिएको छ । मदाने गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी ज्वरो र रुघाखोकीको समस्या देखिएपछि यही जेठ १ गते मदानेको पुर्कोट दहबाट एम्बुलेन्समार्फत उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पताल गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

स्वास्थ्यकर्मीको सल्लाहमा उनी तत्कालै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै रुपन्देही गएका थिए । ज्वरो र रुघाखोकीका कारण कोरोनाको आशंका गरेर अस्पतालले जेठ २ गते स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार संक्रमणको पुष्टि गरेपछि यतिबेला जिल्ला थप त्रसित बनेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लामै पहिलो पटक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खबर पाएपछि संक्रमितको घरलाई बन्द गरिएको जानकारी दिए ।

परिवारका सदस्यलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा बाहिर निस्कन रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । परिवारका सदस्यको कोरोना परीक्षणपछि मात्रै संक्रमण भए नभएको थाहा हुने भएकाले निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच, संक्रमितले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक बन्द गरिएको छ । मदानेका संक्रमितले सन्धिखर्क १ मा रहेको पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि ‘सिल’ गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

पोलिक्लिनिक बन्द गरेर त्यहाँ रहेका चिकित्सक, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सबै बिरामी र सम्पर्कमा आएकाहरुको खोजी गरी कोरोना परीक्षण गरिने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू