बिहीबार, चैत १५, २०८०
13:05 | १८:५०

कोरोनाले मृत्यु भएकी महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ

रासस मे १८, २०२०

काभ्रेपलाञ्चोक । कोरोना भाइरस संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत बिहीबार राति उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य डा नरेन्द्र झाले बताए ।

उनका अनुसार १० दिनकी सुत्केरीको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनका आफन्तको परीक्षणका लागि शनिबार स्वाब संकलन गरी ‘आइसोलेसन’ मा राखिएको थियो ।

मृतकका आफन्तको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पुनः १४ दिनको ‘क्वारेन्टाइन’मा राख्ने गरी पठाउन लागिएको झाले जानकारी दिए ।

गत बिहीबार राति ९.३० बजे उपचारार्थ धुलिखेल अस्पतालमा पुर्याइएकी ती महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मृतक परिवारका सदस्यले नै ती महिलाको श्वासप्रश्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस संक्रमणको शंका गरेर धुलिखेल अस्पताल पुर्याएका थिए ।

शनिबार साँझ स्वास्थ्य मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण एक महिला र एक पुरुषको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू