शुक्रबार, चैत १६, २०८०
05:37 | ११:२२

नेपाली सेनाले झिकाएका स्वास्थ्य सामग्री आइपुगे

रासस मे १६, २०२०
काठमाडौँ, ३ जेठ । नेपाली सेनाले चीनबाट खरिद गरे कोरोना भाइरस (कोभिड –१९) परीक्षणका सामग्रीहरु काठमाडौं आइपुगेका छन् । ति सामग्रीहरु तातोपानी नाकाबाट शनिबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको १४ नं. बाहिनीमा पुरयाइएको छ । शनिबार १० वटा गाडीमा डिस्पोजल गाउन र डिस्पोजल प्रोटेक्टिभ क्लोथिङ आइपुगेको नेपाली सेनाले जनाएको छ । अरु सामग्रीहरु आगामी दिन निरन्तर ल्याइने छ ।
खासामा आइपुगेका १० कन्टेनरलाई शुक्रबार बेलुका मितेरी पुलबाट भन्सार यार्डमा ल्याइएको थियो । किटनाशक औषधि छर्केर १४ घण्टा क्वारेन्टाइनमा राखेपछि जाँच पास गरी भन्सार यार्डबाट राजधानी पठाइएको भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए ।
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस नेपालमा पनि दिनप्रतिदिन सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै जान थालेपछि नेपाल सरकारको निर्देशनमा जीटुज प्रक्रियामार्फत नेपाली सेनाले उक्त सामग्री खरिद गरेको हो ।
सो नाकाबाट यसअघि कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न निजी क्षेत्रले पनि स्वास्थ्य सामग्री झिकाइसकेको छ । चीनको वुहानमा गत डिसेम्बरको अन्त्यमा कोरोना भाइरस फैलिएपछि गएको पुस दोस्रो सातादेखि बन्द रहेको उक्त नाकाबाट अत्यावश्यक स्वास्थ्य सामग्री र खाद्यान्न मात्र आयात हुने गरी खुले पनि हाल फलफूललगायतका अन्य व्यापारिक सामान पनि आयात हुन थालेको भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू