शनिबार, वैशाख ८, २०८१
03:30 | ०८:१५

लण्डनको कन्जेसन शुल्क बढाएर १५ पाउण्ड बनाइयो

मे १८ देखि पुनः लागु हुंदै कन्जेसन शुल्क

नेपाली लिङ्क मे १५, २०२०

लण्डन । ‘सेन्ट्रल लण्डन’ भएर गुड्ने गाडीहरुको लागि लगाइने ‘कन्जेसन शुल्क’ आगामी महिनादेखि तीस प्रतिशतले बढ्ने भएको छ ।

अहिलेसम्म साढे ११ पाउण्ड रहेको उक्त शुल्क आउँदो जुन २२ तारिखदेखि वृद्धि भएर १५ पाउण्ड पुग्ने भएको छ ।

साथै, ‘लकडाउन’ का बेला हटाइएको ‘कन्जेसन शुल्क’ यहि मे १८ तारिख सोमबारदेखि पुनः लागू गरिने भएको छ ।

अबदेखि साताका सातै दिन बिहान ७ देखि राति १० बजेसम्म ‘कन्जेसन शुल्क’ लागू हुनेछ । यसअघि विकेण्ड र सार्वजनिक बिदामा उक्त शुल्क छुट थियो ।

‘सेन्ट्रल लण्डन’ भित्र उच्च प्रदुषण उत्पादन गर्ने सवारीमा लाग्ने ‘लो एमिसन जोन’ र ‘अल्ट्रा लो एमिसन जोन’ शुल्क पनि आउँदो सोमबारदेखि लागू गरिंदैछ ।

लण्डन मेयर सादिक खानले ‘लकडाउन’ पछि ‘सेन्ट्रल लण्डन’ मा बढ्न सक्ने ट्राफिक चाप कम गर्न यी शुल्कहरु पुनः लागू गर्न लागिएको बताएका छन् ।

त्यसैगरी, बस चालकहरुलाई कोरोना संक्रमणबाट बचाउने उद्देश्यले निशुल्क बनाइएको बस यात्रामा पनि अब शुल्क तिर्नुपर्ने बनाइन लागेको छ ।

६० वर्षभन्दा माथिका मानिसहरुलाई उपलब्ध गराइएको ट्राभल पास ‘पीक आवर’ हरुमा प्रयोग गर्न नपाइने नयाँ नियम पनि ल्याइंदैछ ।

मेयर खानले कोरोना भाइरस महामारीको कारण ‘ट्रान्सपोर्ट फर लण्डन’ (टिएफएल) मा आर्थिक हिसाबले चर्को मार परेको भन्दै शुल्क वृद्धिको निर्णय लिनुपरेको बताएका छन् ।

लकडाउनका बेला यात्रुहरुको संख्यामा उल्लेख्य गिरावट आएपछि ‘टिएफल’ लाई भाडाबापत हुने आम्दानी ९० प्रतिशतले न्यून भएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू