आइतबार, मंसिर २३, २०८१
09:20 | १५:०५

मृत्युसंग जुध्दै सेवामा समर्पित हामी नर्सहरु

सन्दर्भ : विश्व नर्सेस दिवस  मे १२

अजिता सिम्खडा मे १२, २०२०

अजिता सिम्खडा

कुनै बेला जब म नर्सिङ्ग पढ्न कलेज भर्ना भएको थिएँ ‘छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कमर्स’ भन्ने चलन थियो हाम्रो समाजमा । अचम्मको कथाको सुरुवात जब एसएलसी सकियो ‘फस्ट डिभिजन’ आउने बित्तिकै हरेकको चाहना अमृत साइन्स पढ्ने हुन्थ्यो, ममा पनि जरुर थियो । तर कथाले फरक बाटो लियो ।

मेरी आमा सन्चो नभएर अस्पताल जाँदा भर्खरकी कलिलो उमेरकी एक नर्स नम्र वचन अनि विनम्रता पूर्वक प्रस्तुत भइछिन् । त्यो व्यवहारले मेरी आमाको आत्मा छोएछ र आमाले मेरो दाईलाई तुरुन्तै भन्नुभएछ, ‘हाम्रो छोरीलाई पनि यस्तै बनाउन मिल्दैन?’,  अनि दाईले मुस्कुराउंदै ल बहिनीलाई नर्सिङ्ग पढाउने हो भनेर मलाई नर्सिङ्ग कलेजमा फाराम भरिदिनुभो । ती नर्सको नम्र व्यवहारले अर्को नर्स (मलाई) उत्पादन गर्न ठूलो उर्जा मिल्यो । त्यसैले ‘नर्सिङ्ग इज एन आर्ट एंड साइन्स’ (नर्सिङ्ग एउटा कला र विज्ञान पनि) हो ।

आजको अस्तित्वको चुनौतीमा हिमाल झैँ अडिग भएर नर्सहरु मृत्युसँग युद्ध मैदानमा छन्। जीवन त उनको पनि हो, तर जुन दिनदेखि समान, स्वच्छ, इमान्दारिताको भाव ले मानव सेवा गर्नेछु भन्ने सपथ लिए पछि चाहे राजा आवोस चाहे रैती आवोस, चाहे अरबपति आवोस चाहे भिखारी आवोस, ती नर्सहरुको भाव र व्यवहारमा कुनै भिन्नता हुन्न जसरी नेताहरु सपथ एउटा लिन्छन् अनि व्यवहार उल्टा गर्छन् । किनकि नर्स ‘हेड’ र ‘हार्ट’ दुवैले काम गर्छन् ।

हरेक बिहानी, समयका हरेक पलहरुमा नर्सका मनमा अस्पतालका शैयाहरुमा सानो जीवनको भिख खातिर, जीवन नर्स र डाक्टरको हातमा सुम्पिएका बिमार शरीरहरुको याद बिना केहि हुंदैन भन्दा कुनै दुई मत छैन। मुसुक्क हासेर जब नर्स उत्रिन्छन् सारा अस्तित्व नतमस्तक हुंदै यो परिस्थितिमा, यो युद्धमा लड्ने शक्ति दिन बाध्य छन् ।

जब उनी बिरामी नजिक पुग्छन्, उनीहरु मस्तिष्कले मात्र काम गरेका हुंदैनन् मनले बिरामीको स्वास्थ्य लाभको कामना र हृदयले प्रार्थना पनि गरिरहेका हुन्छन् । आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दै पेशागत धर्म खातिर बचाउका आवश्यक सामग्री बिना नै सेवामा खटिएका छन् । उनको ध्यान केवल बिरामीको ज्यान कसरी बचाउने भन्ने मात्र हुन्छ । उनलाई थाहा पनि हुन्न कि कतै उनको परिवार छ, उनले समयमा खाना खानु पर्छ आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्छ, ख्याल केवल यो बिमारी छिटो निको हुन्छ कि हुन्न भन्ने मात्रै।

कोमल हृदय, कठोर मन, शालीन व्यवहार, सुन्दर मुस्कान, पवित्र वाणी देख्दा एउटा प्रश्न मनमा संधै उठ्छ उ नर्स बन्नको लागि ती गुणहरु लिएर जन्मिएका हुन् अर्थात् नर्स बनेपछि यी गुणहरु आर्जित गरेकी हुन् । त्यसैले यो मन्त्र नै भएको छ – ‘नर्सिङ्ग इज एन आर्ट एंड साइन्स’  ।

परिवार, आफन्त र समाजको जिम्मेवारी

दिनभरी फेस मास्क लगाउदा लाग्छ कि नाकको आकृति नै फरक पो हुन्छ कि, अनि मास्कले छाडेका डोप, अनि चोट, मृत्युको साक्षी बन्दाको पिडा, बिमारीको आफन्त सँगको मिलन डिजिटलमा सीमित गराउनु पर्दा चोट नै चोटले क्षत-विक्षत हुंदै घर फर्कंदा निशब्द अनि जीवनविहीन हुन्छन् । यी भोगाइ बाहेक परिवार, आफन्त, साथीभाइ, समाजको जिम्मेवारी उत्तिकै सम्हाल्नु परेको छ । आफ्नो ख्याल राखेको छ छैन, तर अरुको ख्याल राख्नु है भन्दै अरूका लागि उर्जा श्रोत बन्दैछन् नर्सहरु ।

लाग्थ्यो ठूला स्वरले भाषण गर्ने ठूला र साहसी हुन्छन् त्यो त माइक र स्टेज पाउंदा मात्र रहेछन् । यो महामारीमा नर्सबाट सर्छ कि जस्तो गर्ने पनि भेटियो, बोल्दा नै बोलि कंपाएको पनि देखियो । तर नर्स आफ्नो स्वास्थ्य जोखिममा राख्दै बिरामीहरुको स्वास्थ्यमा तन, मन, शरीर दाउंमा लगाउंदै छन् । सलाम छ यी योद्धाहरुलाई ।

यो हप्ता नर्सिङ्ग हप्ता भनेर मनाउने गरेका छौं । आज म यी अक्षरहरु मार्फत विश्वभरि सेवामा खटिएका सम्पूर्ण नर्सहरुलाई शुभकामना दिन चाहन्छु र सेवारत हुँदा आफ्नो यो युद्ध भूमिमा मृत्युवरण गर्नुभएका सम्पूर्ण नर्सहरुको चिर शान्तिको कामना गर्न चाहन्छु । साथै उहांहरुको परिवारलाइ ईश्वरले यो विषम परिश्थितिमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछु ।

नमीठा वाक्यहरु सुनिन्थ्यो यदाकदा जो अद्वितीय बुद्धि भएकाहरु र कोही कोही भन्ने गर्थे नर्स भनेको डाक्टरसंग रमाउनेहरु हुन् (शब्दलाई परिमार्जित गरिएको), आज थाहा भयो होला कि नर्स को हुन्, नर्सिङ्ग पेशाको मर्म र धर्म के रहेछ एवं नर्स कति शक्तिशाली, दयावान, करुणामयी, प्रेमिल, उर्जावान रहेछन् भन्ने । म पूर्ण विश्वस्त छु कि हाम्रा महावाणी परिवर्तन भै “छोरी सप्रिए नर्स“ भैसकेको छ, नर्सिङ्ग पेशामा अझै परिवर्तन आउने छ, यो समय परिवर्तनको हो, पेशागत हकहित र नर्सहरुको ऐक्यबद्धता अझै मजबुत हुनेछ मेरो अन्तर्मनदेखि शुभकामना ।

अन्त्यमा, नेप्लीज नर्सिङ्ग एसोसियसन यूके परिवार, बेलायतको लागि महामहिम राजदूत डा दुर्गा बहादुर सुवेदी, प्रसुना कंडेल, रश्मिता दर्लामी, नेपालबाट शान्ति टन्डन दिदी, हाम्रा आदरणीय प्रोफेसर डा इंदिरा सिंह, बिनोद विकास सिम्खडा, मन सुनुवार दिदी, अप्सरा खुलाल दिदी एवं सम्पूर्ण नर्सहरु जो प्रत्यक्ष र अप्रत्यक्ष समाजको हितमा समय दिइ रहनु भएको छ, हजुरहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

यो समयमा हजुरहरुले दिनु भएको अपार योगदानको कदर गर्न अक्षरहरु अपुग नै हुन्छन् । त्यसैले हजुरहरुको सुस्वास्थको कामना सहित छिट्टै प्रत्यक्ष भेट हुने समयको आशा सहित मेरा अन्तरभावबाट प्रस्फुटित अक्षरहरु हजुरहरूमा समर्पित गर्दै यो कलम बन्द गर्दछु ।

(बेलायतको स्टकम्यान्डभिल अस्पतालमा वरिष्ठ नर्सको रुपमा कार्यरत लेखक कोरोनाका लक्षणहरु देखिए पछि स्वएकान्तवासमा बसेर अहिले काममा फर्की सकेकी छिन् । उनी नेप्लिज नर्सेस एसोसियशन युकेकी संस्थापक अध्यक्ष पनि हुन्। )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू