बिहीबार, १४ मे, २०२६
21:29 | ०२:१४

स्वामी आनन्द अर्हत ध्यान शिविर सन्चालन गर्न आइपुगे लन्डन

नेपाली लिङ्क मे १४, २०२६

लन्डन – काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत बेलायतका विभिन्न स्थानमा ध्यान शिविर सन्चालन गर्न लन्डन आइपुगेका छन् ।

बिहीबार बिहान उनलाई हिथ्रो विमानस्थलमा युकेस्थित ओशो सन्न्यासीहरुले स्वागत गरेका थिए।

स्वामी अर्हतले २२ मेदेखि २५ मेसम्म मूर् हल, मेडनहेडमा चार दिवसीय ध्यान शिविर संचालन गर्ने ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले बताए । उक्त शिविरमा सहभागी भै लाभान्वित हुन उनले सबै साधकहरुलाई आग्रह पनि गरे ।

उक्त शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले स्वामी ध्यान शंकर (07886018119 ) तथा स्वामी भगीरथ योगी (07771687332 ) लाई सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन् ।

आफ्नो बेलायत बसाईका क्रममा स्वामी अर्हतले मे १६ तारिख (शनिबार) बिहान ९ देखि २ बजेसम्म डार्टफोर्ड हिन्दु मन्दिरमा योग तथा ध्यान शिविर संचालन गर्ने छन्। उनले मे १७ तारिख (आइतबार) नर्थोल्ट कम्युनिटी हल, साउथ ह्यारोमा बिहान ९ देखि ११ बजेसम्म योग तथा ध्यान सत्र संचालन गर्ने छन्। उक्त सत्र सबैका लागि खुला र निशुल्क रहेको आयोजक नेप्लिज ब्रिटिश कम्युनिटी युकेले जनाएको छ। त्यस्तै, उनले मे १८ तारिख (सोमबार) एभरेष्ट कुजिन साउथ हयाम्प्टनमा एक दिवसीय ध्यान शिविर संचालन गर्नेछन्।

संसारका २० बढी मुलुकमा ध्यान शिविर सन्चालन गरिसकेका स्वामी अर्हतले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताएका छन् ।

“जब हामी व्यावसायिक जीवनमा लाग्छौं, जीवनको अनुभव सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। तर आज हामी बढी आत्तिएको अवस्था छ, स्ट्रेसको अवस्था छ। त्यस्तो तनावलाई कम गर्ने ध्यानका विधिहरु सिकेर तपाईं घरमै पनि गर्न सक्नु हुन्छ,” स्वामी अर्हतले भने– “हाम्रा भावना वा विचारहरुबाट हाम्रो जीवन संचालित हुन्छ, ती विचारलाई कसरी सन्तुलित गर्ने? मित्रताको भावबाट आध्यात्मिक चेतसहित कसरी जिउने लगायतका विषयहरु हामी शिविरमा सिक्नेछौं।”

“जेनरेशन ग्याप के हो ? हामीलाई बच्चाहरुसंग कुरा गर्न किन गाह्रो हुन्छ? त्यसको जग के हो र हामीले कसरी आफ्नै छोरा छोरीसंग संवाद गर्ने कला सिक्न सक्छौं ? हल्का शरीर, शान्त मन, विचारमा स्थिरता र जगतसंगको आध्यात्मिक सम्बन्धबारे पनि हामी शिविरमा छलफल तथा अभ्यास गर्नेछौं,” स्वामी अर्हतले भने ।

त्यस्तै ओशो आनन्दबोधी ध्यान केन्द्रका संयोजक स्वामी ध्यान शंकरले ध्यान शिविरमा सपरिवार सहभागी हुन सबै मित्रहरुलाई आग्रह गरे ।

“आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। आफ्नो व्यवसाय र पेशामा उत्कृष्टता हासिल गर्नका साथै परिवार र आफ्नो जीवनमा स्नेह र शान्तिका लागि पनि योग र ध्यानको अत्यन्तै ठूलो भूमिका हुने प्रमाणित छ,” उनले भने ।

ओशो तपोवनका संस्थापक बोधिसत्त्व स्वामी आनन्द अरुणका निकट सहयोगी स्वामी आनन्द अर्हतले गत १९ वर्षदेखि बेलायतमा ध्यान शिविरहरु सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू