गोर्खालीको गौरव र राज्यको उपेक्षा



जब इमान्दारिता र वीरताको कुरा आउँछ, विश्वसामु गर्वका साथ लिइने नाम ‘गोर्खाली’ हो। तर विडम्बना, संसारले चिनेका तर आफ्नै राष्ट्रले नचिनेका यी वीर गोर्खालीहरू आज आफ्नो परिचय हराउँदै लोपोन्मुख अवस्थामा पुगेका छन् । २ सय १० वर्षभन्दा लामो अक्षुण्ण इतिहास बोकेका गोर्खालीहरूले न त आफ्नै देशबाट उचित संरक्षण पाएका छन्, न त उनीहरूले सेवा गरेका विदेशी राष्ट्रहरूबाट नै । आफ्नै देश र बेलायत वा भारतको इतिहासमा समेत उनीहरूलाई उचित स्थान दिइएको छैन् र अपवादका रूपमा ‘भाडाको सिपाही’ (Mercenary) सरह मात्र उल्लेख गरिएको छ ।
नेपाल सरकारले जसरी दलित समुदायप्रति माफी मागेको छ, त्यसरी नै गोर्खाहरूप्रति राज्यले गरेको हेपाहा प्रवृति र ‘इथ्नीक क्लिन्जिङ’ का लागि सरकारले माफी माग्नु पर्छ । ‘इथ्नीक क्लिन्जिङ’ यसकारण कि प्रथम र दोश्रो विश्वयुद्धमा मृत्युवरण गर्ने आदिवासी जनजाति समुदायका गुरूङ, मगर, राई र लिम्बू ९५ प्रतिशत अधिक छन् ।
शासकको स्वार्थ र ‘घर लौरी’ नीति
गोर्खा भर्ती केवल रहर वा संयोग मात्र थिएन, बरु नेपालका तत्कालीन शासकहरूको आफ्नो सत्ता जोगाउने स्वार्थको उपज थियो । वीर शमशेर र चन्द्र शमशेर जस्ता शासकहरूले आफ्नो शक्ति र क्राउन जोगाउन पाखाभित्तामा जन्मेका राई, लिम्बू, गुरुङ र मगर जस्ता आदिवासी जनजाति युवाहरूलाई अग्रमोर्चामा मर्न पठाए । शासकहरूले ‘घर लौरी’ अर्थात् ‘एक घरबाट एक व्यक्ति अनिवार्य युद्धमा जानैपर्ने’ उर्दी जारी गरेर नेपाली गाउँघरलाई श्मशानघाटमा परिणत गरिदिए ।
नेपालको इतिहासमा उल्लेख भएको एक सानो अंशलाई लिने हो भने पनि प्रथम विश्वयुद्धमा त्यस बेलाको नेपालको जनसंख्याको २० प्रतिशत नेपाली युवाहरु प्रथम विश्वयुद्धमा सहभागी थिए भन्ने उल्लेख छ । यो २० प्रतिशत नेपालीहरुमा को को संलग्न थिए ? के हामीले सोध्यौं, किन र केका लागि आत्मावलिदानी थियो भनेर ? यो त्याग, वलिदानी नेपालकालागि थियो । रगत हाम्रै लागि बगेको थियो । विश्वकै सोझा, इमान्दार हाम्रा पूर्वजहरुले नेपालका लागि रगत बगाए । हामी जहाँ जुन अवस्थामा लडे पनि त्यो नेपालकालागि थियो । वीर समशेर, चन्द्रसमशेरहरु पनि नेपालकै थिए ।
यिनीहरुकै स्वार्थका कारण सबैभन्दा सानो उमेरका सेना भएर हाम्रा गोर्खाली सेनाहरुले ज्यान गुमाए । त्यसबेला सिंगो नेपाली गाउँघरहरु शमसानघाट बनाए । आज नेपाल राष्ट्रले उनीहरुको वलिदानलाई के कति सम्मान गरयो ? नालापानी काँगढामा भएका युद्धभन्दा भन्दा कैंयन गुणा ठूलो त्याग भएको गोर्खाली इतिहासलाई हामीले के कति सम्मान गर्न सक्यौं ?
आर्थिक शोषण र राज्यको उदासीनता
विगत दुई सय वर्षदेखि नेपाल सरकारले गोर्खाको नाममा आएको पैसा चलाइराखेको छ तर यसको कुनै पारदर्शी हिसाबकिताब सार्वजनिक गरिएको छैन्। प्रथम विश्वयुद्धको समयमा नेपालले वर्षेनी १० लाख रुपैयाँ बुझ्ने गरेको थियो, जुन सन् १९२३ मा दोब्बर भयो र दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) पछि अझ बढ्यो। गोर्खालीहरूको यो अमूल्य बलिदानको हिसाब नदेखाउनु उनीहरूप्रतिको ठूलो अपमान र बेइमानी हो । यसका लागि नेपाल सरकारले विशेष समिति निर्माण गरेर सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्नुपर्छ। आज २१औं शताब्दीमा पशुको समेत तथ्याङ्क राखिन्छ, तर नेपाल सरकारसँग आफ्ना निर्दोष नागरिक गोर्खाहरूको बलिदानीको तथ्याङ्क संकलन गर्ने कुनै निकाय छैन् ।
नेपालको राष्ट्रिय सङ्ग्रहालयमा समेत गोर्खा योगदानको नामोनिसान राखिएको छैन् । वर्तमान शासकहरूले बेलायत र भारतलाई मात्र दोष दिएर इतिहासका भूलहरू ढाकछोप गर्नुको साटो निर्दोष जनतालाई युद्धमा पठाएको जिम्मेवारी लिई संसदमा उभिएर माफी माग्नुपर्छ। साथै, गोर्खा भर्तीले ल्याएको सामाजिक, पारिवारिक, भौतिक र मानसिक विचलनको गहिरो समाजशास्त्रीय अध्ययन हुनु नितान्त आवश्यक छ।
विश्वभर छरिएका समाधिस्थलहरू र तिनको अवस्था
प्रथम र दोस्रो विश्वयुद्धलगायत अन्य युद्धहरूमा मारिएका गोर्खालीहरूको समाधि संसारका विभिन्न देशमा छरिएर रहेका छन्। सन् १९१७ मा स्थापित कमनवेल्थ वार ग्रेभ्स कमिसनले यस्ता समाधिहरूको संरक्षण गर्दै आएको छ। कमिसनको नीति अनुसार समाधि स्थायी, एकैखाले र रंगभेद रहित हुनुपर्छ। यसको संरक्षण खर्च बेलायत (७.४३%), क्यानाडा (१०.७%), न्यूजिल्याण्ड (२.१४%), दक्षिण अफ्रिका (२.११%), भारत (१.२%) र अस्ट्रेलिया (१.०५%) ले बेहोरिरहेका छन् । हाल विश्वका १४९ देशहरूमा रहेका २३,२६४ समाधिस्थलहरूमा १६,९५,१७४ समाधिहरू रहेका छन्, जसमध्ये २,११,९२९ समाधिहरू अझै सनाखत हुन सकेका छैनन् र यीमध्ये धेरै गोर्खा छन्।
समाधिस्थलहरूको अवस्था विश्वभर फरक–फरक
-पूर्वी जर्मनीको जरेनड्रोफमा सन् १९८९ मा बर्लिनको पर्खाल ढलेपछि मात्र खोजी गर्दा गोर्खालीका समाधिहरू फेला परेका थिए ।
-भारतको दिल्ली र टर्कीको ग्यालिपोली (Gallipoli) मा रुग्न मौसमले समाधिहरूलाई असर पारिरहेको छ।
-फ्रान्स र बेल्जियममा वर्षे बाढीबाट समाधिहरूलाई जोगाउन गाह्रो परिरहेको छ।
-इजिप्टमा पानीको अभावले समाधि उद्यानहरू सुक्ने स्थितिमा छन् भने बेलायतमै धेरै समाधिस्थलहरू निजी जग्गामा परेकाले संरक्षणमा कठिनाइ भइरहेको छ।
हङकङमा गोर्खाली समाधि र संरक्षणको प्रयास
विश्वभरका युद्ध समाधिस्थलहरूमध्ये हङकङको गोर्खा समाधिहरूको संरक्षणमा ‘गोर्खा सिमेट्री ट्रस्ट हङकङ’ र त्यहाँका सचेत नेपालीहरूले विशेष चासो देखाएका छन् । सिंगापुर, इटली जस्तै हङकङ गोर्खालीहरुका लागि भनी समाधिहरु गोर्खा सिमेट्रीका नाममा संरक्षणमा रहेका छन् । हङकङको क्यासिनो लाइनमा अवस्थित ताम्मी क्याम्पमा एक ठूलो क्षेत्रफल भित्र बेलायती सैनिक सेवाकालमा मृत्युवरण गरेका गोर्खालीहरुका ५ सय ८० भन्दा बढी समाधि संरक्षणमा छन् । जसको सुरक्षा वार ग्रेभ्स कमिसनले गरिरहेको छ।
साँघुरो हङकङमा ११ वटा समाधिस्थल दर्ता भए पनि ‘नर्वेजियन फार्म सिमेट्री’ जस्ता ठाउँको नामोनिसान छैन, जहाँ राइफलम्यान लिम्बू (सर्भिस नम्बर २११४५३६०) को समाधि परेको छ र हाल यसको तीव्र खोजी भइरहेको छ। जग्गा अभावका कारण कृष्णबहादुर थापा, खड्गसिंह गुरुङ र पूर्णवीर राई जस्ता हिन्दू सैनिकहरूलाई ह्याप्पी भ्याली हिन्दू मन्दिरको समाधिस्थलमा जथाभावी राखिएको छ। हङकङमा हताहत भएका १८२५ गोर्खाहरूमध्ये ६२१ जना अझै सनाखत हुन बाँकी छन्।
इतिहासको पुनर्लेखन र पुर्खा दिवसको माग
नेपाली इतिहासमा यतिञ्जेलसम्म छायामा पारिएको गोर्खा इतिहासलाई अब न्याय दिई इतिहास पुनर्लेखन गर्नुपर्ने टड्कारो आवश्यकता छ । यदि हामीले गोर्खाहरूलाई साँचो अर्थमा सम्मान गरेका छौँ भने, भावी पुस्ताले पुष्पगुच्छा अर्पण गर्न सक्ने र श्रद्धाले शीर झुकाउन सक्ने एउटा विशाल स्मृति स्तम्भ काठमाडौँमा निर्माण गरिनुपर्छ । यस समुदायलाई न्याय दिनका लागि विभिन्न प्रयासहरू हुनुपर्ने हो । हङकङमा पुर्खा दिवसकोरूपमा गत २० वर्ष यता हङकङका नेपालीहरूले विशेष दिनका रूपमा अप्रेल ५ तारिखलाई पुर्खा दिवसका रूपमा मनाउन थालेका हुन् । स्थानीय चिङ मिङ फेस्टिभल पनि सँगै पर्ने भएका कारण यो दिवसले हङकङजस्तो अन्तराष्ट्रिय सहरमा चर्चा पाइरहेको छ । पुर्खा दिवसलाई वार्षिक पर्वका रूपमा विश्वव्यापी रूपमा मनाउँदै नेपाली एकताको लागि एउटा बलियो इन्स्टिट्यूसनको रूपमा विकास गर्ने योजना बनाइरहेको आयोजकहरू बताउँछन् ।
विद्यालय स्तरमा पाठ्यक्रममा समावेश गरी गोर्खा इतिहास र गोर्खा विभूतिहरूलाई नेपाली शैक्षिक पाठ्यक्रमभित्र ल्याएर आम विद्यार्थीहरूलाई जानकारी दिने सानै भए पनि प्रयास भइरहेको छ । पुर्खा दिवसमा विभिन्न विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरू पनि सहभागी हुँदै आएका छन्। साहित्य र कलाको विकासः गोर्खा साहित्य, कला र सङ्गीतको उत्थान र विकास गर्दै पुर्खाहरूलाई सजाउने काम गरिरहेका छन् । आयोजक गोर्खा सेमेइट्रीज ट्रष्टले गोर्खाहरूको तथ्याङ्क सङ्कलन र अनुसन्धान गरी प्रथम र दोश्रो विश्वयुद्धमा हताहत भएका लगभग ४० हजार गोर्खालीहरूको तथ्याङ्क प्रकाशित गरिसकेको छ । सनाखत नभएका गोर्खाहरूको नामावली तयार पार्ने र बेलायत सरकार, कमनवेल्थ वार ग्रेभ्स कमिसनसँग मिलेर सांख्यिकी निकाल्ने काम समेत भइरहेको छ ।
अन्त्यमा, गोर्खालीहरूको यो २०० वर्षभन्दा लामो इतिहासलाई कवि, लेखक र राज्यले यथार्थपरक मूल्याङ्कन नगरेका कारण आज भावी सन्ततिले यसप्रति गहिरो चासो लिनुपर्ने बेला आएको छ । ६० हजार बढी हताहत भएका शूरवीर गोर्खाहरूको इतिहास केवल समाधिस्थलको ढुङ्गा (Headstone) मा ‘एक योद्धाले मृत्युवरण भयो’ भन्ने एक लाइनमा सीमित हुनु हुँदैन । आफ्नो देशका जनतालाई युद्धमा पठाएर त्यसको क्षतिपूर्ति नदिने राज्यले अब आफ्नो दायित्व बुझ्दै सुगौली सन्धी र त्रिपक्षीय सन्धीको स्पष्टीकरण दिनुपर्छ र यो महान् इतिहासलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्छ।
– देवराज राई
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


