शनिबार, वैशाख १५, २०८१
22:26 | ०३:११

चीनको वुहानमा एक महिनापछि फेरि भेटियो कोरोना संक्रमण

रासस-एएफपी मे १०, २०२०

बेइजिङ । विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो संक्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।

वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ संक्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस संक्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा विरामीहरू भेटिएका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो ।

चीनमा शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार संक्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन् ।

आयोगले सुलान शहरमा बुधबार संक्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा संक्रमण फैलिएको जनाएको छ । संक्रमित सबैमा कोरोना भाइरस सङ्क्रमणका कुनै लक्षण नदेखिएको आयोगले बताएको छ ।

चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना संक्रमित भएका छन् । तीमध्ये चार हजार ६३३ जनाको ज्यान गएको छ भने ७८ हजार १२० व्यक्ति उपचारपछि घर फर्किएका छन् । चीनमा छिटपुट केसबाहेक संक्रमितको संख्यामा नियन्त्रण देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू