बिहीबार, वैशाख ६, २०८१
12:03 | १६:४८

साउथ ईष्ट लण्डनको पशुपतिनाथ मन्दिरले थाल्यो राहत वितरण

नेपाली लिङ्क मे १०, २०२०

लण्डन । महामारीका बेला अफ्ठेरोमा पर्नेहरुलाई साउथ ईष्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले पनि राहत बाँड्न शुरु गरेको छ ।

मे ७ तारिख विहीबारका दिनबाट हरेक दिन बिहान १० देखि १२ बजेसम्म मन्दिरबाट राहत वितरण भइरहेको मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले जानकारी दिइन् ।

राहतका रुपमा मन्दिरले चामल, दाल, तेल, आटा, पिठो लगायत खाद्यान्न प्रसादका रुपमा वितरण गरिरहेको छ । शुरुका चार दिनमै १५ जनालाई राहत बाँडिएको सचिव त्रिपाठीले बताइन् ।

उनका अनुसार स्थानीय केहि नेपालीहरु समस्यामा परेर फुड बैंकहरुमा लाममा बसेको जानकारी आएपछि पण्डित निलहरि घिमिरेले राहत बाँड्ने प्रस्ताव ल्याएका थिए । त्यसपछि मन्दिर कार्यसमितिको बैठक बसेर राहत वितरण गर्ने निर्णय गरिएको थियो ।

‘शुरुमा कस्तो हुन्छ हेरौं न त भनेर मन्दिरको कार्यसमितिबाटै केहि रकम संकलन गरेका थियौं । तर त्यो रकमबाट ल्याइएको खाद्यान्न पहिलो दिनकै राहतमा लगभग सकियो’, सचिव त्रिपाठीले भनिन्, ‘पछि ट्रस्टीहरुसम्म पनि पुग्यौं । अहिले त स्थानीय समुदायका अन्य दानवीरहरुले पनि सहयोग गरिरहनुभएको छ ।’

स्थानीय समाजसेवी कुमार जोशीले आइतबार ५ परिवारको लागि एक साताको लागि पुग्ने खाद्यान्न ल्याएर मन्दिरमा सहयोग गरेका छन् ।

सहयोग लिनेहरुलाई असहज महसुस नहोस् भनेर सहयोग लिंदै गरेको कुनै तस्विर नलिने नीति मन्दिरले लिएको छ । तर, सहयोग दिन आउने दाताहरुको भनेर तस्विर लिएर आफ्नो ग्रुपमा शेयर गर्ने गरेको छ ।

मन्दिरले राहत नेपालीहरुका लागि मात्रै सिमित नराखेर समस्यामा पर्ने सबैलाई सहयोग गर्ने बताएको छ । सहयोगको आवश्यकता पर्नेहरुलाई कुनै संकोच बिना मन्दिरमा आउन मन्दिर कार्यसमितिले आव्हान गरेको छ ।

‘यदि कोही समस्यामा हुनुहुन्छ भने कुनै हिच्किचाहट नराखी मन्दिरमा आउनुहोस् । तपाईंलाई आवश्यक खाद्यान्न मन्दिरको प्रसाद सम्झेर लैजानुहोस्’, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेल भन्छन्, ‘कसैले यो विपतको बेला सहयोग दिन चाहनहुहुन्छ भने पनि मन्दिरलाई सम्पर्क गर्नुहोस् । हामी तपाईंको सहयोग आवश्यकतामा रहेकाहरुसम्म पुर्याउनेछौं ।’

सबैको लागि राहतका रुपमा समान खाद्यान्न मिलोस् भनेर मन्दिर व्यवस्थापन समितिले दाताहरुलाई खाद्यान्न भन्दा पनि आर्थिक सहयोगकै लागि आव्हान गरेको छ ।

महामारी अन्त्य नभएसम्मका लागि सहयोग नरोक्ने र अहिले दिनहुँ १० देखि १२ बजेसम्म वितरण गरिएपनि आवश्यकताअनुसार समय बिस्तार गर्ने योजना मन्दिरको छ ।

महामारीका कारण भक्तजनहरुका लागि बन्द गरिएको मन्दिरमा अहिले पनि पुजारीहरुबाट नियमित पूजापाठ भने भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू