मंगलबार, वैशाख ४, २०८१
11:52 | १६:३७

‘लकडाउन’ को नयाँ चरण घोषणा गर्दै प्रधानमन्त्री जोन्सन

'स्टे होम'को अपील 'स्टे अलर्ट'मा परिवर्तन हुने

नेपाली लिङ्क मे १०, २०२०

प्रधानमन्त्री बोरिस जोन्सन

लण्डन । आउँदो सातादेखि बेलायत कोरोना भाइरस नियन्त्रणको प्रयासमा जारी गरिएको ‘लकडाउन’ को दोस्रो चरणमा प्रवेश गर्दैछ ।

‘लकडाउन’ को भावी रुप र यसबाट बाहिरिने सरकारको नीतिबारे विस्तृत योजना आइतबार साँझ ७ बजे प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गर्दैछन् ।

प्रधानमन्त्री जोन्सनको सम्बोधनपछि तत्काल नै ‘लकडाउन’ मा खासै धेरै परिवर्तन आउने अपेक्षा छैन । तर, आजसम्म सरकारले गर्दै आएको ‘स्टे होम’ (घरमै बस्नुहोस्) को अपील अबदेखि ‘स्टे अलर्ट’ (सतर्क रहनुहोस्) मा परिवर्तन हुने ठानिएको छ ।

सरकारले अबदेखि उपयुक्त सतर्कतासहित मानिसहरुलाई काममा जान समेत प्रोत्साहित गर्ने नीति बनाएको छ ।

यसै सन्दर्भमा आइतबारको सम्बोधनमा प्रधानमन्त्रीले सरकारको नयाँ नारा ‘स्टे अलर्ट, कन्ट्रोल भाइरस, सेभ लाइभ्स’ (सतर्क रहनुहोस्, भाइरस नियन्त्रण गर्नुहोस् र जीवनहरु बचाउनुहोस्) सार्वजनिक गर्दैछन् ।

प्रधानमन्त्रीले कोरोना भाइरसको जोखिमको तह देखाउने एक ‘अलर्ट सिस्टम’ घोषणा गर्ने तयारी रहेको समेत बीबीसीले जनाएको छ । जसबाट सबैभन्दा सुरक्षित १ (हरियो) देखि सबैभन्दा जोखिमपूर्ण रातो (५) सम्मको तहमा जोखिमको वर्गीकरण हुनेछ ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अहिले बेलायत जोखिमको चौंथो चरणमा रहेको र तेस्रो चरणतर्फ अघि बढ्दै गरेको जानकारी गराउने अपेक्षा छ ।

यो प्रणाली शुरुमा इंग्ल्याण्डको लागि घोषणा हुने र पछि अन्य राज्यहरुमा बिस्तार गरिने बताइएको छ ।

आफ्नो सम्बोधनअघि प्रधानमन्त्री जोन्सनले मन्त्रीपरिषद र अन्य तीन वटै राज्यका प्रमुख नेताहरुसंग पनि छलफल गर्दैछन् । ‘लकडाउन’ को रुप र यसबाट बाहिरिने नीतिमा बेलायतका चार वटै राज्यमा एकरुपता राख्ने सरकारको चाहना रहेको बुझिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू