बिहीबार, चैत १५, २०८०
16:30 | २२:१५

बेलायतमा एक दिनमै लाख बढी परीक्षण, मृतक ६ सय २१ बढे

नेपाली लिङ्क मे २, २०२०

‘सेक्रटरी अफ स्टेट फर हाउजिङ, कम्युनिटिज एण्ड लोकल गभर्मेन्ट’ रोबर्ट जेनरिक ।

लन्डन । मे महिनाको पहिलो दिन बेलायतमा कोरोना भाइरसको १ लाख भन्दा बढी परीक्षण गराइएको छ ।

शनिबार ‘डाउनिङ स्ट्रिट ब्रिफिङ’ मा बेलायत सरकारका ‘सेक्रटरी अफ स्टेट फर हाउजिङ, कम्युनिटिज एण्ड लोकल गभर्मेन्ट’ रोबर्ट जेनेरिकले शुक्रबार १ लाख ५ हजार ९ सय ३७ वटा परीक्षण गराइएको जानकारी गराए । हालसम्म बेलायतमा कुल ११ लाख २९ हजार ९ सय ७ जनामा कोरोना परीक्षण गरिसकिएको उनले बताए ।

सरकारले अप्रिल अन्त्यसम्ममा दैनिक १ लाख परीक्षण पुर्याउने लक्ष्य हालै हासिल गरेको थियो ।

यसैबीच, बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ । गएको २४ घन्टाभित्र ६ सय २१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकले बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि सुस्त गतिमा घट्न लागेको देखाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार ८ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । यससंगै बेलायतमा कोरोना ‘पोजिटिभ’ देखिनेहरुको कुल संख्या १ लाख ८२ हजार २ सय ६० पुगेको छ ।

अहिले बेलायतका अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको संख्या १४ हजार ६ सय ९५ छ । जुन संख्या पछिल्लो दिनमा घट्दै गएको छ ।

कोरोनाको संक्रमणबाट विश्वभरमा हालसम्म करिब अढाई लाख मानिसहरुको मृत्यु भइसकेको छ । सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका छ भने इटाली दोस्रो स्थानमा छ ।

अहिलेसम्म तेस्रो स्थानमा रहेको बेलायतको मृतक संख्या इटालीकै हाराहारीमा पुगेको छ । यो क्रम हेर्दा बेलायत कोरोना संक्रमणबाट मृत्यु हुने मुलुकमध्ये विश्वभरमा दोस्रो र युरोपमा पहिलो स्थानमा पुग्ने देखिन्छ ।

सरकारको ‘कोरोना ब्रिफिङ’ मा मन्त्री जेनरिकले उच्च जोखिममा रहेका मानिसहरुको सहयोगका लागि सरकारले ७६ मिलियन पाउण्डको प्याकेज ल्याउने जानकारी गराए । जुन रकम च्यारिटीहरुमार्फत जोखिममा रहेका बालबालिका, घरेलु हिंसा तथा ‘आधुनिक दासत्व’ का पीडित लगायतको लागि खर्च गरिने उनले बताएका छन् ।

सोहि अवसरमा इंग्ल्याण्डकी ‘डेपुटी मेडिकल अफिसर’ डा जेनी ह्यारिसले बेलायतले महामारीको ‘पीक’ पार गरिसकेपनि यस समस्याबाट पार पाउन अझै धेरै गर्न बाँकी रहेको बताइन् । सरकारले यसअघि सार्वजनिक गरेका न्यूनतम पाँच आधार तयार नहुञ्जेल ‘लकडाउन’ र ‘सोसल डिस्टेन्सिङ’ को नियम कायम राख्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू