मंगलबार, वैशाख ४, २०८१
09:05 | १३:५०

अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु

रासस अप्रिल २९, २०२०

वासिङ्टन डिसी । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मंगलबार थप एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उनी अस्पतालमा भर्ना भएका थिए । पन्थी समेत गरी अमेरिकामा कोरोनाबाट हालसम्म मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना संक्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना संक्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उनी भन्छन्, ‘अरु रोग लागेका व्यक्तिमा कोरोनाको संक्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पुर्याउने गरेको देखिन्छ ।’

यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मंगलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिए । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पु¥याउने काममा भण्डारीले सहयोग गर्दै आएका छन् ।

एनआरएनए ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए ।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस संक्रमणबाट मुक्त गराउन सफल भएका छन् ।

संख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार संक्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्यांक छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू