शुक्रबार, असोज १, २०७८
14:11 | १८:५६

गर्भवती महिला र शिशुमा ‘कोभिड १९’को असर कसरी कम गर्ने ?

बेलायतमा कार्यरत स्त्रीरोग विशेषज्ञको सुझाव

डा.सुचना धिताल अप्रिल २४, २०२०

डा.सुचना धिताल

‘कोभिड १९’ को महामारी विश्वभर दुई सय भन्दा बढि देशहरुमा फैलिइसकेको छ । गर्भवती महिलाहरु र परिवारलाई यो संक्रमणले गर्भावस्था र पेटमा रहेको शिशुलाई कसरी असर गर्छ भन्नेबारे धेरै जिज्ञासा रहनु स्वभाविक नै हो । यो नयाँ किसिमको रोग भएकोले यसबारेमा अहिल्यै धेरै जानकारी भइसकेको छैन । तर अहिलेसम्म भएका अध्ययन र अनुसन्धानहरुबाट मुख्यत यो भाइरस मान्छेबाट सर्छ भन्ने पक्का भएको छ ।

‘अमेरिकन कलेज अफ अब्सट्रेसियन्स् एन्ड गाइनोकोलोजिस्ट’ (एसिओजी) र बेलायतको ‘रोयल कलेज अफ अब्सट्रेसियन्स् एन्ड गाइनोकोलोजिस्ट’ (आरसिओजी) ले दिएका हालसम्मका तथ्यांकले गर्भवती महिलाहरू अन्य सामान्य मानिसको तुलनामा ‘कोभिड’को उच्च जोखिममा नभएको देखाएको छ । यो सर्ने दुई तरिका बताइएको छ । पहिलो सङक्रमित मानिसको नजिक (२ फिट भन्दा नजिक) जाँदा श्वासप्रश्वासबाट निस्कने साना थुकका छिटा आँखा, मुख, नाकबाट शरीरभित्र प्रवेश गरेर र दोस्रो सङक्रमित मानिसको श्वासप्रश्वासबाट निस्कने थुक वा सिङ्गानका छिटा लागेका वस्तु छोइकेपछि आफ्नो आँखा, मुख, नाक छोएमा ।

हालसम्मको तथ्यांकले गर्भवती महिलाहरू अन्य सामान्य मानिसको तुलनामा ‘कोभिड’को बढि जोखिममा नरहेको बताएपनि गर्भावस्थाका बेलामा शरीरमा हुने विभिन्न परिवर्तनले रोग प्रतिरोधात्मक क्षमता कम हुने हुंदा गर्भावस्थाका अन्तिम महिनातिर कहिलेकाहिं कडा संक्रमण हुन सक्छ । कडा संक्रमण भन्नाले निमोनिया वा शरिरमा अक्सिजनको कमी इत्यादि हुन् जसको समयमा नै पहिचान र उपचार गर्नुपर्दछ । यो संक्रमणबाट बच्न गर्भवती महिलाले पनि अन्य सामान्य मानिस सरह निम्न उपाय अपनाउनु पर्छ ।

१. कम्तीमा पनि २० सेकेण्डसम्म साबुनपानीले हात धुने
२. आँखा, नाक र मुख बारम्बार नछुने
३. घरमा नै बस्ने
४. बाहिर जानु परेमा अन्य मानिसहरु भन्दा कमकेकम ६ फिट टाढा बस्ने
५. बिरामीबाट टाढा बस्ने

त्यस्तै, अप्रिल ३ तारिखमा आएको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) को भनाइअनुसार गर्भवती महिलाले आफूलाई ‘कोभिड १९’ को लक्षण देखिएमा वा शंका लागेमा, आफूले हेरचाह गर्नुपर्ने कोहिमा यसको लक्षण देखिएमा र धेरै मानिसहरु भएको ठाउँमा जानु परेमा कपडाको मास्क लगाउँदा राम्रो हुनेछ ।

‘कोभिड १९’ को संक्रमण भइहालेमा घरमा नै बस्ने, सार्वजनिक यातयातमा यात्रा नगर्ने, घरमा पनि परिवारका अरु सदस्यभन्दा टाढा बस्ने वा बाहिर जानुपरेमा मास्क लगाएर मात्र जाने गर्नुपर्छ । आफूले नियमित देखाउने डाक्टरसँग सोधपुछ गर्दा राम्रो हुन्छ । तर श्वासप्रश्वासमा समस्या बढेमा, छाति दुखेमा वा छाती गहैं भएमा, अचानक होश हराए जस्तो भएमा, ओठ निलो भएमा वा अन्य कुनै समस्या देखिएमा अस्पताल जान ढिलो गर्नुहुदैन ।

कोरोना भाइरसले गर्भावस्थामा पार्न सक्ने असर

गर्भावस्थामा हरेक महिलाको यो भाइरससँग लड्ने क्षमता फरक फरक रहेको पाइएको छ । कोभिड १९ लागिसकेको भएपनि धेरै गर्भवती महिलालाई यसको लक्षण देखिदैन वा सामान्य लक्षण हुन्छ जुन पूर्णत निको हुन्छ । तर गर्भवती अवस्थामा यदि श्वासप्रश्वासमा समस्या, आस्मा, मुटु रोग र क्यान्सर जस्ता अरु रोगहरु पनि छन् भने यसले संक्रमणको खतरा बढाउने देखिन्छ । स्वाईन फ्लु र अन्य कोरोना भाईरस (सार्स, मर्स) जस्तै कोभिड १९ मा पनि गर्भावस्थाको अन्तिम ३ महिनामा संक्रमणको खतरा बढ्ने हुन्छ ।

बेलायतको रोयल कलेज अफ अब्सट्रेसियन्स् ले २८ हप्ता भन्दा बढीको गर्भ रहेमा सामाजिक दूरी र व्यक्तिगत दूरी कायम राख्नेमा बढि जोड दिएको छ। कमसेकम एउटा अध्ययनमा यो संक्रमणले आमाको स्वास्थ्यस्थितिको कारण बच्चा समय पुग्नुभन्दा अगावै जन्मिने (प्रिटर्म बर्थ) खतरा देखाएको छ ।

सामान्यतया गर्भावस्थामा रगत बाक्लो हुने र नयाँ अध्ययनहरु अनुसार ‘कोभिड १९’ मा पनि रगत बाक्लो हुने हुँदा, गर्भवती महिलाहरुमा रगत जम्ने (थ्रोमबोमवोलिज्म) सम्भावना बढि हुन्छ । यो लेख तयार पारुन्जेलसम्म संसार भरमा एक मात्र गर्भवती आमा र उनको पेटमा रहेको शिशुको मृत्युको केस रिपोर्ट भएको पाइएको छ । इरानमा भएको यो घटनामा आमा र शिशु दुवैको मृत्युको कारण कोभिड १९ नै देखाइएको छ।

आमाको पेटमा रहेको शिशुमा कोरोना भाइरसले पार्न सक्ने असर

अहिलेसम्म भएका अध्ययनमा कोभिड १९ का कारणले बच्चा खेर जाने (मिसक्यारिएज) देखिएको छैन । साथै, यो भाइरसले गर्दा पेटमा रहेको शिशुको बनोटमा असर (फेटल मालफर्मेसन) पर्ने देखिंदैन ।

चीनमा भएका अध्ययनमा आमाको संक्रमण पेटभित्रको शिशुमा नसर्ने देखिएपनि विभिन्न नयाँ अध्ययनअनुसार आमाको पेटमा रहँदा पनि शिशुमा कोरोना भाइरस सर्न सक्ने (भर्टिकल ट्रान्समिसन) देखाएको छ। अहिलेसम्म दुई जना शिशुमा आमाबाट सरेको देखिएको भएपनि दुवै शिशुको अवस्था राम्रो रहेको जनाइएको छ । यो संक्रमणले पेटभित्र रहेका शिशुमा कति असर पार्छ भन्ने बारेमा अहिलेसम्म धेरै जानकारी भइसकेको छैन ।

‘कोभिड १९’ संक्रमणको डरले कतिपय गर्भवती महिलालाई जाँच गर्न अस्पताल जाने कि नजाने भन्ने कुराले पिरोलेको हुन सक्छ । यसको लागि डाक्टर वा अस्पतालसँग परामर्श लिएर मात्र जाने र आवश्यक नपरे नजाने गर्नु राम्रो हुन्छ । अहिले विभिन्न अस्पतालहरुले हटलाइन पनि उपलब्ध गराएका छन् । गर्भावस्थामा गरिने जाँच (एन्टीनेइटल केयर) अति आवश्यक हुन्छ । त्यसैले डाक्टरको सल्लाहबिना अस्पताल नजाने गर्नु हुदैंन । पेटमा बच्चा नचलेमा, रगत बगेमा, पानी बगेमा वा अन्य कुनै पनि किसिमको समस्या देखिएमा अस्पताल जान ढिलो गर्नुहुन्न ।

कोरोना संक्रमण भएकै कारणले मात्र अपरेसन वा नर्मल डेलिभरी गराउनुपर्ने भन्ने छैन । डेलिभरीको समय र तरिका (सिजेरियन सेक्सन वा नर्मल डेलिभरी) गर्भवस्थामा रहेका अन्य समस्याहरुमा निर्भर गर्दछ । आफुले नियमित जचाउँने डाक्टरसँग सोधपुछ गर्दा राम्रो हुन्छ ।

अहिलेसम्मको अध्ययनहरुअनुसार आमाको दुधमा यो भाइरस भेटिएको छैन । तर, आमाको दुधमा यो भाइरस हुँदै हुन्न भन्नको लागि पर्याप्त जानकारी भने छैन । यदि आमालाई ‘कोभिड १९’ संक्रमण देखिएको छ भनेपनि बच्चालाई छुनुभन्दा अगाडि हात धुने वा माक्स लगाएर बच्चालाइ आफ्नो दुध खुवाउने गर्नाले बच्चालाई यो संक्रमण सर्नबाट बचाउन सकिन्छ । ब्रेस्ट पम्प वा बोटल छुनुभन्दा अगाडि हात धुनुपर्छ । पम्पले दुध निकालिसकेपछि बच्चालाई दुध खुवाउनको लागि घरको अरु स्वस्थ सदस्यलाई सहयोग माग्न सकिन्छ ।

कति गर्भवती महिलाहरु र परिवारलाई कोभिड १९ संक्रमणको कारणले धेरै डर, त्रास, के हुने हो भन्ने अनिश्चितता र आत्तिने समस्या हुन सक्छ । नयाँ किसिमको रोग भएकोले र धेरै जानकारी नभइसकेको कारणले अनिश्चितता हुनु स्वभाविक हो । जानकारी लिँदा वा पत्रपत्रिका पढ्दा सधैँ स्रोत कत्तिको भरपर्दो छ भनेर सोच्नुपर्छ । साथीभाइ र आफन्तसँग कुराकानी गर्नाले डर र चिन्ता कम हुन केहि सहयोग हुन्छ । जानकारी र परामर्श लिँदा सधैँ भरपर्दो स्रोतबाट लिनुपर्छ । तर यदि मन दुखी भइरहने, असहाय भएको लाग्ने, पिर र चिन्ता लागिरहने, मुटु छिटोछिटो चल्ने, जिउनुको औचित्य नदेख्ने भएमा आफूले नियमित देखाउने डाक्टरसँग वा मानसिक रोग विशेषज्ञसँग सोधपुछ गर्नुपर्छ । यो समयमा परिवार र आफन्तको सहयोग अपरिहार्य छ ।

‘अमेरिकन कलेज अफ अब्सट्रेसियन्स् एन्ड गाइनोकोलोजिस्ट’ले श्वास भित्र र श्वास बाहिर गर्ने (ब्रेथ इन ब्रेथ आउट टेक्निक) ले डर चिन्ता केहि मात्रामा कम गर्न सहयोग हुने बताएको छ । यसको लागि ४ सेकेण्ड सम्म श्वास भित्र लिने, ७ सेकेण्डसम्म रोक्ने, ८ सेकेण्डसम्म श्वास बाहिर गर्ने गर्नुपर्छ । यो ३ पटकसम्म गर्नुपर्छ । साथै गर्भवती महिलाहरुले स्वस्थकर खाना खाएर, गर्भावस्थामा गरिने सामान्य व्यायाम गरेर साथै रक्सीजन्य वस्तुको प्रयोग नगरेर रोग प्रतिरोधात्मक शक्तिको विकास गर्न सक्छन् ।

(नोट: यो लेख तयार पारुन्जेलसम्म भएका अध्ययन र अनुसन्धानहरुको आधारमा सुझाव र सल्लाह दिइएको हो । लेखक बेलायतमा स्त्रीरोग विशेषज्ञका रुपमा कार्यरत छन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू