मंगलबार, २८ अक्टोबर, २०२५
21:58 | ०३:४३

इनास यूकेको घोषणा सभामा सम्मानित भए कैयौं श्रष्टा र कलाकारहरु

नेपाली लिङ्क अक्टोबर २८, २०२५

लन्डन । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले आइतबार आफ्नो छैठौं घोषणा सभा तथा दशैं तिहार सांस्कृतिक कार्यक्रम भव्य रुपमा गरेको छ ।

उलीचस्थित ट्रामशेड थियटरमा आयोजित समारोहको सुरुमा नेपाली जनताको स्वतन्त्रता, समानता, राष्ट्रियता र लोकतन्त्रका लागि प्राण अर्पण गर्ने सहिदहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो भने नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु गाइएका थिए।

उक्त कार्यक्रम उद्घाटन प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए आइसीसीका पूर्व अध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, इनास यूकेका संस्थापक तथा इनास ग्लोवलका पूर्व उपाध्यक्ष मनिष श्रेष्ठ एवं इनास यूकेका अध्यक्ष सञ्जयभक्त कंडेलले सामूहिक रुपमा दीप बालेर गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत दुवाडीले बेलायतस्थित नेपाली डायष्पोरा अत्यन्त सक्रिय र नेपाललाई अत्यन्तै माया गर्ने समुदायको रुपमा पाएको बताए । उनले नेपालमा हालै भएका घटनापछि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न बेलायतस्थित नेपाली समुदाय तथा संघसंस्थालाई आग्रह गरे ।

उनले यसबारे थप जानकारी नेपाली दूतावासको वेबसाइटमा रहेको जानकारी दिंदै प्रवासमा नेपाली कला संस्कृति र सम्पदाको संरक्षण तथा सम्वर्धन गर्न इनास यूकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे ।

एनआरएनए आइसीसीका पूर्व अध्यक्ष कुल आचार्यले आफ्नो शुभकामना मन्तव्यमा इनास यूकेले कला-संस्कृतिमार्फत नेपाली समुदायलाई एउटै मालामा गाँस्ने काम गरेको बताए । उनले आफूले एनआरएन नागरिकता लिएको २ वर्ष ९ दिन भएको र अहिलेसम्म सात हजार गैर आवासीय नेपालीहरुले एनआरएन नागरिकता लिइसकेको बताए । उनले एनआरएन नागरिकताको छिटो कार्यान्वयन गर्न आग्रह पनि गरे । उनले नेपालको माटो बेचेर विदेशी माटोमा नमिसाउन आह्वान पनि गरे ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले अहिले देशमा पीडा महसुस भइरहेको भन्दै हाम्रो समाजलाई कता लैजाने सोच्ने बेला आएको बताए । उनले विस्तारित राष्ट्रियताको अवधारणा अनुरुप संसारभरि रहेका नेपालीहरुलाई एउटै सूत्रमा जोड्नु पर्ने बताए ।

निर्वाचन समितिका संयोजक हेमन्त सेढाईंले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए । इनास यूकेका संस्थापक तथा इनास ग्लोवलका पूर्व उपाध्यक्ष मनिष श्रेष्ठले सबैलाई स्वागत गरे । सचिव दीप गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए आइसीसीका पूर्व अध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी तथा निर्वाचन समितिका सदस्य राजु न्यौपानेले २०२५-२७ कार्यकालका लागि निर्वाचित इनास यूकेका साथै राज्य समितिहरु इंगल्याण्ड, स्कटल्याण्ड तथा वेल्स कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यस्तै, उक्त समारोहमा वरिष्ठ कलाकार सनम बैराग, समाजसेवी हरि कार्की, साहित्यकार तथा समाजसेवी डा. बच्चुकैलाश कैनी, भिडियोग्राफर सुमन श्रेष्ठ, चितवन समाज यूकेका अध्यक्ष राजु आचार्य, अन्तरराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, नेवा संस्कृति अभियन्ता बिनोद चिपालु, इनास यूकेकी पूर्व अध्यक्ष रजनी सुनुवार, पत्रकार भगीरथ योगी, लेखक श्रीभद्र खनाल, व्यवसायी विकास नेपाल, प्रतिभा नक्षत्रका अध्यक्ष कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।

यसैगरी चलचित्र निर्देशक प्रदीप शाही, क्रिकेट खेलाडी भुवन गिरी, वरिष्ठ गायिका शर्मिला बर्देवा, चलचित्र निर्देशक संयुक्त श्रेष्ठ, खेलकुद क्षेत्रमा पुराएको योगदानका लागि सिद्धार्थविक्रम क्षेत्री तथा सुरज कार्की, सविना श्रेष्ठ, राजेश बर्देवा, इनास वेल्सका अध्यक्ष रामदत्त मिश्र लगायतलाई पनि सम्मान गरिएको थियो।

रोचक सांस्कृतिक कार्यक्रम

कार्यक्रमको दोश्रो चरणमा दशैं तिहारको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा चर्चित गायिका शर्मिला बर्देवाले ‘आगो लाग्यो दिलैमा दमकल बोलाइ देउ’ लगायतका लोकप्रिय गीतहरु सुनाइन् ।

यसैगरी राजेश बर्देवा, सर्वेन्द्र अधिकारी, निशान बराल, निष्चल अधिकारीले गीतहरु सुनाए भने अभिषेक गौतमले विभिन्न तालमा मादल बजाएर दर्शकको मन जिते । कार्यक्रममा कल्चरल रयाम्प वाक गरिएको थियो भने सविना श्रेष्ठ, रोहिणी भण्डारी, निशा श्रेष्ठ, समिक्षा खरेल, पुष्पा कार्की लगायत कलाकारहरुले नृत्य प्रदर्शन गरे ।

सांस्कृतिक कार्यक्रम सञ्चालन राजेश बर्देवाले रोचक ढंगले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू