मंगलबार, २८ अक्टोबर, २०२५
14:07 | १९:५२

पूर्वी एसिया शिखर सम्मेलनमा विपद लचिलोपनका लागि स्थानीयकरणको पक्षमा ऐतिहासिक वक्तव्य

रासस एएनआई अक्टोबर २८, २०२५

क्वालालम्पुर। मलेसियाको क्वालालम्पुरमा भएको २०औँ पूर्वी एसिया शिखर सम्मेलन (इएएस) का नेताले सोमबार विपद तयारी र प्रतिक्रियामा स्थानीयकरण प्रवर्धन गर्ने ऐतिहासिक वक्तव्य पारित गरेका छन् ।

उक्त वक्तव्यले विपद सामना र लचिलोपन निर्माणका लागि स्थानीय क्षमता र सामुदायिक सशक्तीकरणलाई प्राथमिकता दिन सहभागी देशहरूको साझा प्रतिबद्धता पुनः पुष्टि गरेको छ । मलेसियाको आसियान अध्यक्षतामा पारित वक्तव्यले विश्वव्यापीरूपमा बढ्दो वातावरणीय जोखिम, तीव्र सहरीकरण र सामाजिक-आर्थिक चुनौतीहरूलाई मध्यनजर राख्दै प्रभावकारी क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याएको छ ।

नेताले सन् २००९ को चा-आम हुआ हिन वक्तव्य र सन् २०१४ को द्रुत विपद प्रतिकार्य वक्तव्यसहितका अघिल्ला प्रतिबद्धता स्मरण गर्दै तयारी, प्रतिक्रिया र पुनः प्राप्तिमा स्थानीय सहभागिता बढाउनेमा जोड दिएका छन् । स्थानीय सरकार, समुदाय, निजी क्षेत्र र संस्थाको सक्रिय सहभागिता प्रकोप व्यवस्थापनमा प्रभावकारी संयन्त्र सावित भएको वक्तव्यमा उल्लेख छ ।

आसियानको एएडिएमइआर, ‘वन आसियान, वन रिस्पोन्स’ घोषणा र सेन्डाई फ्रेमवर्क (२०१५-२०३०) जस्ता क्षेत्रीय तथा विश्वव्यापी ढाँचामा पनि स्थानीयकरणलाई प्रमुख सिद्धान्तका रूपमा मान्यता दिइएको छ । इएएस नेताले स्थानीय अग्रिम कार्यलाई सशक्त बनाउने, जोखिम-सूचित लगानीमा जोड दिने र समयमै चेतावनी प्रणाली विकास गर्ने आवश्यकतामा बल दिए ।

विज्ञान र प्रविधिमा आधारित जोखिम मूल्याङ्कन, जिआइएस प्रविधि र एआई-सञ्चालित पूर्वानुमान मोडेलमार्फत समुदायलाईसचेत बनाउने पहललाई पनि प्रोत्साहन गरिएको छ । वक्तव्यले स्थानीय अधिकारी र समुदायलाई आपत्कालीन प्रतिक्रिया, पुनः प्राप्ति र पुनर्निर्माणमा केन्द्रीय भूमिका दिनुपर्नेमा जोड दिएको छ ।

साथै, आसियान, निजी क्षेत्र, शैक्षिक संस्था, गैरसरकारी सङ्गठन र रेडक्रस/रेड क्रिसेन्ट मुभमेन्टबिच सहकार्य सुदृढ पार्न आह्वान गरिएको छ । इएएस सदस्य राष्ट्रहरूले द्रुत निर्णय, समयमै अग्रिम कार्य र वित्तीय संयन्त्र सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । तिनीहरूले स्थानीय ज्ञान र सांस्कृतिक अभ्यासलाई विपद प्रतिक्रियामा उपयोगी सम्पदा मान्दै पहिलो उत्तरदाताका रूपमा समुदायको भूमिकालाई सम्मान गरेका छन् ।

क्वालालम्पुरमा पारित उक्त वक्तव्यले स्थानीय सशक्तीकरण, सहकार्य र अग्रिम कार्यद्वारा प्रकोप–लचिलो पूर्वी एसिया निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू