शुक्रबार, वैशाख ७, २०८१
17:41 | २२:२६

एनआरएनए यूकेको ‘कोरोना कोष’ बढाउन संकलन समिति बिस्तार

नेपाली लिङ्क अप्रिल २२, २०२०

 

लण्डन । कोरोना भाइरसको महामारीका कारण उत्पन्न असहज अवस्थामा समस्यामा परेका नेपालीहरुको सहयोगको लागि भन्दै यतिबेला एनआरएनए यूकेले आपतकालीन कोष संकलन गरिरहेको छ ।

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेष्ठको संयोजनमा गठित कोष संकलन समिति हालै बिस्तार गरिएको छ ।

समितिका संयोजक श्रेष्ठका अनुसार कोष संकलन अभियानलाई तीव्रता दिने उद्देश्यले एनआरएनए यूके र चारवटै राज्य समन्वय परिषदका प्रतिनिधि समेटेर समिति बिस्तार गरिएको हो ।

श्रेष्ठ संयोजक रहेको कोष संकलन समितिमा सचिव इंग्ल्याण्ड राज्य परिषदकै सचिव गोविन्द खरेल छन् भने स्कटल्याण्ड परिषद अध्यक्ष छविलाल अर्याल, वेल्स परिषद अध्यक्ष कृष्ण भण्डारी र नर्दन आयरल्याण्ड परिषद अध्यक्ष नारायण कुँवरलाई सम्बन्धित राज्यको संयोजक बनाइएको छ ।

समितिमा इंग्ल्याण्डबाट नारायण कोन्मे गुरुङ, सकुन्तला गुरुङ, लालबहादुर गुरुङ, प्रकाश कँडेल, ध्रुवहरि बाँस्कोटा र राजु बोहोरा सदस्य छन् ।

त्यस्तै, स्कटल्याण्डबाट दिवाकर पाण्डे, वेल्सबाट विभुषणमान श्रेष्ठ र नर्दन आयरल्याण्डबाट छमबहादुर रेग्मीलाई पनि सदस्य राखिएको छ ।

एनआरएनए यूकेको आपतकालीन कोषमा मंगलबार बेलुकासम्म ७ हजार १ सय २६ पाउण्डको सहयोग प्रतिबद्धता आएको संयोजक श्रेष्ठले जानकारी दिए ।

अब बेलायतका ४ वटै राज्यमा कोष संकलन अभियानलाई तीव्र बनाइने उनको भनाइ छ ।

कोष व्यवस्थित र पारदर्शी बनाउन कार्यविधि

आपतकालीन कोषमार्फत वितरण गरिने सहयोग व्यवस्थित र पारदर्शी बनाउन यसअघि एनआरएनए यूकेले यससम्बन्धी एक कार्यविधि पारित गरिसकेको छ । जसमा अत्यावश्यक अवस्थामा मात्रै आर्थिक सहयोग उपलब्ध गराउने स्पष्ट पारिएको छ ।

कोरोनाकै कारण मृत्यु हुनेको परिवारलाई आवश्यकताअनुसार ५ सय पाउण्डसम्म नगद सहयोग गर्ने, संक्रमणको जोखिममा रहेका परिवारहरुलाई ‘स्यानिटाइनजर’, ‘मास्क’ सहितका स्वास्थ्य सामग्री वितरण गर्ने, खानाकै लागि समस्यामा पर्नेहरुलाई चामल, दालसहितका खानेकुरा र अत्यावश्यक सामग्री उपलब्ध गराउने लगायतका व्यवस्था कार्यविधिमा छ ।

त्यसैगरी, भौतिक रुपमा सहयोग दिन नसकिने अवस्थामा सम्बन्धित व्यक्तिलाई बैंकमार्फत आर्थिक सहयोग पठाउने र अत्यावश्यक सामग्री खरिद गरेको बिल-भरपाइ मगाउने, समस्याको स्तर हेरेर सहयोगको आकारबारे निर्णय लिइने पनि कार्यविधिमा उल्लेख छ ।

विगतमा संस्थाको पारदर्शिताका बारेमा प्रश्नहरु उठ्ने गरेको तथ्यलाई ध्यानमा राखेर सहयोग संकलन र वितरणलाई पारदर्शी रुपमा सञ्चालन गर्ने गरी कार्यविधि ल्याइएको एनआरएनए यूकेले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू