शुक्रबार, वैशाख १४, २०८१
02:39 | ०७:२४

बेलायतमा नेपालीमाथि जातीय आक्रमण बढ्दै

कोरोना महामारीपछि बढ्यो जातीय द्वेष

नेपाली लिङ्क अप्रिल २१, २०२०

बेलायतमा नेपालीमाथि जातीय आक्रमणका घट्ना अहिले झन् बढेका छन्।

लन्डन । गत बुधबार राती ११ बजे बेलायतको दक्षिणपूर्वी क्षेत्र मेडिस्टोनमा पार्किङ गरि राखिएका नेपालीका दुई वटा कार आगो लगाएर जलाइयो । अज्ञात व्यक्तिले एल्मस्टोन लेनस्थित भूतपूर्व गोर्खा रामकुमार लिम्बुको फोर्ड फोकस कार जलाएका थिए ।

-लगत्तै करिब २०० मिटर पर फ्यान्ट लेन निवासी वसन्त मादेनको कार पनि जलाइयो ।

-अर्को शहर फार्नबोरोमा भूतपूर्व गोर्खा वृद्धवृद्धा पनि जातीय विभेदको शिकार भए । केही दिनअघि केही स्थानीय व्यक्तिले ति वृद्धवृद्धाले लगाएको मास्क थुतेर अपमानित हुने गरि गाली गरेको फार्नबोरोनिवासी खेजी राईले जनाइन् ।

-अघिल्लो महिना ब्रिस्टोल शहरमा पनि एक नेपालीले अपशब्द सामना गर्नु पर्‍यो । २३ बर्षका रोशन गुरुङ ग्लोस्टररोडमा हिंडिरहँदा कारमा सवार एक ब्यक्तिले झ्याल खोलेर ‘ओइ चमेरा कतिमा विक्री गरिरहेका छौ ? कोरोना भाइरसका लागि बधाइ’ भन्दै चिच्याएको गुरुङले सम्झिए । बेलायतमा पहिलो पटक आफूले जातीय विभेद अनुभव गरेको उनी बताउँछन् ।

बेलायतमा नेपालीमाथि जातीय आक्रमण मुद्दा नौलो होइन् । तर अहिले घट्ना झन् बढेका छन्। गत जुलाइमा पनि योर्कशायरको मिडल्सबरोस्थित मिडलहेभनको एउटा सुपरस्टोरमा कामका बेला भूतपूर्व गोर्खामाथि ढुंगा प्रहार भएको थियो ।

गत बुधबार राती बेलायतको मेडिस्टोनमा पार्किङ गरि राखिएका नेपालीका दुई वटा कार आगो लगाएर जलाइयो ।

मेडस्टोनका पीडित परिवारले उक्त घट्नालाई कोरोनासित गांसिएको जातिय घृणा हुनसक्ने दावी गरेपनि अनुसन्धान गरिरहेको केन्ट प्रहरीले जातीय आक्रमण हो वा होइन् केही बताएको छैन् ।

कोरोना भाइरसको महामारी शुरु भएयता सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको लिम्बुकी भतिजीलाई उधृत गर्दै स्थानीय मिडियाले उल्लेख गरेका छन् ।

बाहिर हिंड्न निस्कन लाग्दा ‘चाइनिज आफ्नो देश जाउ’, ‘चमेरा खान छोड’ जस्ता शब्द सुन्नु परेको अनुभव पनि उनीसंग छ ।

मेडिस्टोनस्थित नेपालीमूलका काउन्सिलर दिनेश खड्का साढे १९ वर्षदेखि सोही क्षेत्रमा छन् । यसअघि जातीय आक्रमण आफूले कहिल्यै नभोगेको बताउंदै उनले केन्ट पुलिसले अनुसन्धानका क्रममा ५ जनालाई शंकास्पद रुपमा निगरानी गरिरहेको बताए ।

‘अहिले स्थानीय बासिन्दाले नेपालीको योगदान देखेर पीडितलाई ८ सय पाउण्ड उठाइसकेका छन्’, काउन्सिलर खड्काले भने, ‘हामी समग्रमा एकदम सौहाद्रपूर्ण वातावरणमा बसेका छौं । केही उच्छृंखल व्यक्तिको क्रियाकलाप जोडेर हेर्नुहुंदैन् तर यसले सजग हुन भने पाठ सिकाएको छ ।’

योर्कशायरको मिडल्सबरोमा जातीय दुर्वायवहारमा परेका भूतपूर्व गोर्खाहरु ।

लन्डनस्थित नेपाली दूतावासले मेडस्टोन घट्नापछि तुरुन्त ब्रिटिश सरकारलई जानकारी गराइएको बताएको छ ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बेलायत सरकारले घट्नालाई गम्भीर रुपमा लिने बताएको आरनले जनाए । ‘कोभिड १९ नियन्त्रणपछि पनि जातीय आक्रमण हुन सक्ने अवस्था मध्यनजर गर्दै ब्रिटिश सरकारलाई अवगत गराएको हौं’, आरनले थपे, ‘नेपाली भन्दा पनि चाइनिजमूलका देखिने व्यक्तिमाथि कोरोना भाइरसलाई जोडेर आक्रमण भएका देखिएको छ ।’

नेपालीहरु धेरै रहेको रसमोरमा जातीय आक्रमण नभएको ग्रेटर रसमोर नेपलिज कम्युनिटीकी महासचिव प्रमिला लाबुंग राईले बताइन् । तर, काउन्सिलले लकडाउन नियम नमानेको, बीबीक्यू खाएको जस्ता गुनासा गरेपछि त्यो समाधान गरिएको राईले जनाइन् ।

कम्युनिटीले भूतपूर्व गोर्खा वृद्धवृद्धालाई औषधि, खाद्यान्न लगायत आवश्यक सामग्री नियमित सपिङ गरिदिने र सातैदिन योगा र मेडिटेसन गर्ने गरेको उनले सुनाइन् ।

यूके नेपाल फ्रेण्डसीप सोसाइटीले नेपालीमाथि गरिएका क्रियाकलापको निन्दा गर्दै मंगलबार केन्टका सरकारी अधिकारीहरुसंग यसबारे कुरा राख्ने जनाएको छ । गत वर्ष स्वीन्डन, नर्थ वीलसायरमा नेपालीमाथि जातीय आक्रमण हुंदा पनि सोसाइटीले कारवाहीका लागि पहल गरेको थियो ।

इकान्तिपुरबाट

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू