शुक्रबार, वैशाख १४, २०८१
10:26 | १५:११

बेलायतमा कोरोनाले अर्का भूतपूर्व गोर्खाको निधन

नेपाली लिङ्क अप्रिल ८, २०२०

लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लन्डन बस्ने एकजना भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको छ । उनको मंगलबार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् । उनी कोरोनाका कारण लन्डनमा दिवंगत हुने दोश्रो भूतपूर्व गोर्खा र तेश्रो नेपाली हुन् ।

पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्ली बस्दै आएका ५९ वर्षीय गुरुङ तमुधिं लन्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए ।

तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ का अनुसार, गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा सेवा गरेका उनको आर्मी नम्बर २११६३२४१ हो । ‘कोरोनाका कारण आफ्नै निकट मानिस मर्दा पनि भेट्न पाइएन’, गुरुङले भने, ‘चेत भाइ मिलनसार र समाजसेवा भनेपछि हुरुक्कै हुन्थे । उनको निधन समस्त तमु समुदायका लागि ठूलो क्षति हो ।’

उनी श्रीमती गंगादेवीसंग बस्दै आएका थिए ।

तमुधिं लन्डन इकाइ अध्यक्ष चन्द्रबहादुर गुरुङ र महासचिव भरत गुरुङले एक शोक सन्देश प्रकाशित गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरुले शोकाकुल परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनि भगवान बुद्धसंग प्रार्थना समेत गरेका छन् ।

‘चेत दाईलाई निरन्तर रुघाखोकी, ज्वरो आएपछि ६ दिनजति ‘सेल्फ आइसोलेसन’ मा घरमा बस्नु भएको थियो । पछि च्यापेपछि गत १ अप्रिलमा एम्बुलेन्स बोलाएर अस्पताल जानुभएको थियो’, भरत गुरुङले भने, ‘सोमबारदेखि ‘भेन्टिलेटर’ मा राखिएको रहेछ । उहांमा डायबेटिज थियो । सायद त्यसकारण रिकभर हुन सक्नुभएन ।’

स्वर्गीय गुरुङले गत २४ मार्चमा लेखेको फेसबुक स्टाटसः
कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुःखको घडीमा गुज्रिरहेको छ । अनेकौं महामारी आउंदा उपचार हुंदै आएको थियो । तर, यो भाइरस भने अनौठो नै बनेर आयो । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रम नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनि निको भएका अनेकौं खुशीका खबर आएका छन् । इम्युनिटी पावर बढाउनुहोस्, भिडभाडमा नजानुहोस् साथै मास्क र सेनिटाइजर प्रयोग गर्नुहोस् ।

आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू