मंगलबार, कार्तिक ४, २०७७
15:51 | २०:३६

जसले जिते कोरोना

नेपाली लिङ्क अप्रिल ५, २०२०

लन्डन । चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वव्यापी बनेको छ । तीव्र रुपमा फैलिरहेको कोराना संक्रमणले सिंगो संसारलाई नै भयभित र त्रसित बनाएको छ । कोरोनाको संक्रमण भइहाल्छ कि भन्ने डर र त्रास अहिले सबैलाई छ ।
कोरोना भाइरसबाट संक्रमित भएर पनि स्वास्थ्यलाभ गरिसकेकाहरुले भने कोरोनाबाट बच्न डर, त्रास नभएर सावधानी र आत्मबल आवश्यक रहने बताएका छन् । कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका लण्डन, प्लमस्टिडका व्यवसायी पदम (कपुर) राणासंग नेपाली लिंकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः

सुरुमा मलाई सामान्य ज्वरो आएको थियो । अरु बेलाजस्तै प्यारासिटामोल खाएर नियन्त्रण गर्ने कोशिस गरेँ । बिस्तारै हल्का खोकी पनि सुरु भयो । त्यसपछि मलाई अब आइसोलेसनमा बस्नुपर्छ जस्तो लाग्यो । परिवारका अरु सदस्यसंग बिस्तारै दूरी बढाउन थालें ।
कोरोनाभाइरसका लक्षणहरु देखिएमा सिधै अस्पताल, जीपी नजानु, घरमै आइसोलसनमा बस्नु भनेर सरकारले आव्हान गरेको थियो, मैले पनि त्यहिअनुसार नै गरें ।

तर, बिस्तारै खोकी बढ्दै गयो । एकदिन बिहान ब्रेकफास्ट खाँदै गर्दा वान्ता भएपछि अब त अस्पताल जानुपर्छ भन्ने लाग्यो । दिउँसो फोन गरेर एम्बुलेन्स बोलाएँ । एम्बुलेन्समा आएको प्यारामेडिक टिमले जाँच गर्यो । उनीहरुले निमोनियाको आशंका गरे, मेरो जीपीसंग सम्पर्क गरे र मलाई निमोनियाको औषधि दिए । अस्पताल जानुपर्दैन भनेर घरमै आइसोलेसनमा बस्नु भनेर गए ।

तर भोलिपल्ट मलाई झनै च्याप्यो । छोरीले फेरि एम्बुलेन्स बोलाइन् । उनीहरु आए र मलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याए । त्यतिबेला पनि म राम्रै अवस्थामा थिएँ । अस्पताल पुगेपछि म आफै हिंडेरै इमर्जेन्सी कक्षसम्म पुगेको हुँ । अस्पतालमा पुग्नेवित्तिकै मेरो सबै टेष्ट गरे । निमोनिया भएको छ भनेर औषधि दिए । अनि छुट्टै वार्डमा लगेर राखे ।

सुरुको दिनमा त मलाई निकै गारहो भयो, राम्ररी खान पनि सकेको थिइन् । तर अर्को दिन मैले सोंचे, रोग लागिसक्यो, जसरी हुन्छ यसलाई जितेर निको हुनुपर्छ । त्यसपछि मैले बल गरेरै भएपनि खानेकुराहरु खान थालें । पहिलो दिन जबरजस्ती खाएको थिएँ, अर्को दिनदेखि त बिस्तारै रुच्न थाल्यो । रोग प्रतिरोध क्षमता बढाउनकै लागि पनि मैले खाना, फलफूल, जुसहरु खाइरहें ।

सुरुका दुई दिन गाहे भएपनि, त्यसपछिको ४, ५ दिनको अस्पताल बसाईं मैले इन्जोय नै गरें । अस्पतालमै मैले योगा गर्थें, आफ्नो बेड आफैं मिलाउँथें, फोहोर हुँदा शौचालय पनि आफैं सफा गरें । त्यसपछि बिस्तारै मेरो स्वास्थ्यमा पनि सुधार आउन थाल्यो । डाक्टरहरुले सुधार भइरहेको छ भन्दा निकै खुशी लाग्यो । अन्ततः मैले आफूले सोचेभन्दा पनि छिटो मलाई सुधार भयो र डिस्चार्ज भएर घर फर्किएं ।

म पहिलेदेखि नै स्वास्थ्यका सवालमा सधैं सचेत र सतर्क रहन्थें । नियमित र सन्तुलित व्यायाम गर्थें, जिम गइरहन्थें । खानेकुरामा समेत क्यालोरी, भिटामिन के, कति छ भनेर ध्यान दिने गर्थें । आफू औसत मानिसहरुभन्दा बढि नै सचेत र फुर्तिलो छु जस्तो लाग्थ्यो । तर, रोगले समाएपछि जस्तोसुकैलाई पनि गलाउँदो रहेछ ।

धेरैको बानी रोग लागिसकेपछि मात्रै सचेत बन्ने गरेको देख्छु । तर त्यतिबेला धेरै ढिलो भइसकेको हुन्छ । बिरामी नहुंदै स्वास्थ्यको हेरविचार गर्ने, पोसिलो खानेकुराहरु खाने, व्यायाम गर्ने गर्नुपर्छ । जसले गर्दा सकेसम्म रोग नै नलागोस् र लागिहाल्यो भने पनि त्यसलाई जित्न सकियोस् ।

म हाम्रो समुदायका सबै नेपालीहरुलाई यहि सन्देश दिन चाहन्छु कि सबैभन्दा महत्वपूर्ण कुरा आफू बलियो बन्नुहोस् । पहिला आफ्नो मन बलियो पार्नुहोस् अनि शरीर । तपाईंको मन र शरीर बलियो छ भने एक त रोग नै लाग्दैन्, यदि लागिहाल्यो भने पनि रोगलाई जित्न सकिन्छ । कोरोना लागेर पनि सबै मानिस मरेका त छैनन्, म आफैं पनि निको भएर घर फर्किएको छु । ‘बनको बाघले खान नपाउँदै मनको बाघले खाने गरी’ कमजोर नबन्नुहोस् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू