प्रधानमन्त्री कार्कीले गरिन् नेपालकै ठुलो क्रिकेट प्रतियोगिता एनपिएलको उद्घाटन



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेपालकै ठुलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन गरेकी छन्। प्रधानमन्त्री कार्की सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान पुगेर प्रतिस्पर्धी टोली काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सका खेलाडीसँग परिचय गर्दै एनपीएलको उद्घाटन गरेकी हुन्।
उद्घाटन खेलमा काठमान्डुका कप्तान करणले टस जितेर डिफेन्डिङ च्याम्पियन जनकपुरविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका थिए। गत सिजनमा जनकपुरले उपाधि यात्राको क्रममा काठमान्डुलाई ५ विकेटले पराजित गरेको थियो।
काठमान्डुको टोलीबाट करण केसीसहित आकाश त्रिपाठी, भीम सार्की, सन्तोष यादव, आदिल अन्सारी, रशिद खान, शाहव आलम, रिकार्डो भास्कोनसेलोस, बेन चार्ल्सवर्थ, जेहर्राड इरसमस र मिलिन्द कुमार प्लेयिङ ११ बाट खेलिरहेका छन्।
त्यस्तै जनकपुरबाट आसिफ शेख, कप्तान अनिल साह, किशोर महतो, ललित राजवंशी, मयन यादव, विकास आग्री, रुपेश सिंह, लाहिरु मिलान्था, लाहिरु समराकुन, यान निकोल लफ्टी इटन, सञ्जय कृष्णमुर्थी प्लेयिङबाट खेलिरहेका छन्।
प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीले एक-अर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ। फाइनल मंसिर २७ मा हुनेछ।
यसैबीच नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको प्रतियोगितामा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईका अनुसार आइतबार रातिदेखि नै सुरक्षा योजनासहित जिल्लाबाट प्रहरी टोली खटिएको छ। ‘१२ सय २३ जना प्रहरी यही कार्यक्रमका लागि खटिएका छन्,’ एसपी भट्टराईले भने,‘अनुसन्धानका प्रहरी, ट्राफिक, सीसीटीभी निगरानी गर्ने प्रहरीलगायत आवश्यक प्रहरी परिचालन गरिएको छ।’
एसपी भट्टराईका अनुसार क्यानसँग समन्वय गरेर ४० सीसीटीभी खेललाई लक्षित गरेर जडान गरिएको थियो। प्रहरीले ड्रोनबाट पनि निगरानी राख्नेछ।



