सोमबार, १७ नोभेम्बर, २०२५
19:59 | ०१:४४

जेनजी आन्दोलनमा दुवै आँखाको ज्योति गुमाएका सन्तोषलाई बेलायतबाट एकलाख सहयोग

नेपाली लिङ्क नोभेम्बर १७, २०२५

लन्डन । गत भदौ २३–२४ मा सुर्खेतमा भएको जेनजी आन्दोलनका क्रममा टाउकोमा गोली लागेर दुवै आँखाको ज्योति गुमाएका सन्तोष बोहोराको परिवारलाई बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनले रु. १ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

संगठनले यस वर्षको वार्षिक सम्मान कार्यक्रम स्थगित गर्दै उक्त सहयोग गरेको हो ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले त्रिवि शिक्षण अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरे । हस्तान्तरणका क्रममा अध्यक्ष क्षेत्रीसँगै उनकी श्रीमती कल्पना रोका र परिवारका सदस्यहरु सरला रोका र साइना रोका पनि उपस्थित थिए ।

अध्यक्ष भरत रोका क्षेत्रीले उपचाररत परिवारलाई सहयोग हस्तान्तरण गर्दै भने- ‘पहिले 
सहारा होस्, सम्मान त पछि पनि दिन सकिन्छ । यो वर्षको वार्षिक सम्मान कार्यक्रम स्थगित गरेर हामीले यो सहगोग गरेका छौं । अहिले प्राथमिकता भनेको पीडित परिवारलाई तत्काल सहारा दिनु हो ।’

उनले सरकारले बोहोराको उचित उपचार सुनिश्चित गरि परिवारलाई दीर्घकालीन रोजगारी वा सुरक्षा व्यवस्था गरिदिन पनि माग गरेका छन् । ‘उनीमाथि गोली चलाउनेले कानूनी कारवाही भोगोस् भन्ने पनि हाम्रो आग्रह छ’- क्षेत्रीले भने ।

त्रिविमा अचेत अवस्थामै उपचाररत

जुम्ला–तिला गाउँपालिका–२, रारेलीका स्थायी बासिन्दा तथा हाल वीरेन्द्रनगर–२, सुर्खेत बस्दै आएका सन्तोष बोहोरा आन्दोलनमा गम्भीर घाइते भएपछि सुर्खेतमा उपचार सम्भव नभएर उनलाई तत्काल काठमाडौं सारिएको थियो।

हाल उनी त्रिवि शिक्षण अस्पतालको बेड नं. ४१२ मा अचेत अवस्थामै उपचाररत छन्। उनकी धर्मपत्नी निर्मला खड्का निरन्तर अस्पतालमै बसेर स्याहार–सुसार गर्दै आइरहेकी छन्।

सहयोग हस्तान्तरणका क्रममा निर्मला खड्का अत्यन्तै विह्वल बनिन्। ‘मेरो श्रीमानको राम्रो उपचार होस्। सरकारले हाम्रो पीडा बुझिदियोस्, उपचारमा साथ दिऊन्। गोली चलाउने अपराधीले कानूनी सजाय पाओस्’, आँसु पुछ्दै उनले भनिन्- ‘मलाई न चिनजान, न कुनै नाता–सम्बन्ध । तर एउटा फोटोको भरमा यहाँसम्म आइपुगेर सहयोग गर्नु भएकोमा अध्यक्ष भरत रोका क्षेत्रीज्यू र संगठनलाई मनदेखि धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।’

सन्तोष बोहोराको अवस्थाबारे जानकारी सामाजिक सञ्जालमा भाइरल बनेको एउटा फोटोबाट मात्र प्राप्त भएको थियो । तर, उनी कुन अस्पतालमा उपचाररत छन् भनेर पत्ता लगाउने प्रक्रियामा संगठनलाई निकै कठिनाइ भएको रोकाले बताए ।

‘थुप्रै प्रयास असफल भएपछि, अन्ततः प्रहरीका उच्च अधिकारीहरूको सहकार्यबाट मात्र परिवारको वास्तविक अवस्था र अस्पतालको ठेगाना फेला पार्न सकिएको थियो’, उनले भने ।

संगठनले ३००औँ जन्मजयन्तीदेखि हरेक वर्ष सम्मान गर्दै आएको छ । सन् २०२२ मा प्रा. डा. सुरेन्द्र केसीलाई प्रथम सम्मान, सन् २०२३ मा प्रा. डा. राजेश आहिराजलाई द्वितीय सम्मान, सन् २०२४ मा पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता भरत बस्नेतलाई तृतीय सम्मान र सन् २०२५ मा सामाजिक अभियन्ता कमलराज पौडेललाई चौंथो सम्मान प्रदान गरिसकिएको छ । यसपटक भने संगठनले जेनजी आन्दोलनका घाइतेलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू