शुक्रबार, वैशाख १४, २०८१
04:06 | ०८:५१

एनआरएनए यूकेको सचेतना अभियान थप प्रभावकारी बनाइने

नेपाली लिङ्क अप्रिल ५, २०२०


लण्डन । गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले कोरोना भाइरसका सम्बन्धमा बेलायतको नेपाली समुदायमा सचेतना जगाउने आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने भएको छ । आइतबार सम्पन्न कार्यसमितिको भिडियो कन्फरेन्स बैठकले यसअघि नै शुरु गरिएको सचेतना तथा परामर्श कार्यक्रम थप प्रभावकारी बनाउँदै निरन्तरता दिने निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार, एनआरएनए यूकेले अब नेशनल हेल्थ सर्भिस (एनएचएस), पब्लिक हेल्थ इंगल्याण्ड तथा अन्य सरकारी निकायबाट जारी स्वास्थ्यसम्बन्धी सूचना तथा जानकारीहरु नेपाली भाषामा अनुवाद गरी वितरण गर्ने भएको छ । जसको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष नारायण कंडेललाई दिइएको छ ।

फेसबुक पेजमार्फत सञ्चालित लाईभ संवाद कार्यक्रमबाट समुदाय लाभान्वित भएको निश्कर्ष निकाल्दै बैठकले स्वास्थ्य लगायत विभिन्न क्षेत्रका विज्ञहरुलाई आमन्त्रित गर्दै कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

कोरोनाको कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित विद्यार्थी, वृद्धवृद्धा, अशक्त लगायतका समस्याहरुका साथै स्वास्थ्यगत परामर्शको लागि सम्बन्धित सबैलाई एनआरएनए यूकेको हेल्पलाईनमार्फत सम्पर्कमा आउन अनुरोध गर्ने तथा हेल्पलाईनमा दर्ता भएर आएका समस्याको मात्र आधिकारिक सम्बोधन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, बैठकले कोरोना सहयोग संकलन अभियानलाई सहयोग पुर्याउन बेलायतवासी नेपालीहरुलाई अपिल गर्ने र यसअघि सहयोग संकलनको संयोजन गर्ने जिम्मेवारी दिइएका इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठलाई सहयोग संकलन समिति विस्तार गर्न जिम्मा दिने निर्णय गरेको छ ।

सहयोग संकलन तथा वितरण प्रणाली थप प्रभाकारी बनाउन र यसको नियमन गर्नको लागि सहयोगको मापदण्ड लगायतका विषयहरुलाई समेटर निर्देशिकाको रुपमा एक नियमावली जारी गरिने भएको छ । नियमावली तयारीका लागि उपाध्यक्ष नारायण कंडेल, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत रानाभाट र सहयोग संकलन समिति संयोजक दिपक श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

बैठकले कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई समुदायलाई थप सजग र सचेत रहन सहयोग गर्न तथा आ-आफ्नो क्षेत्रमा रहेका कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनमा परिचालन गर्ने पनि निर्णय गरेको छ ।

अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा बसेको बैठकमा आइसीसी सदस्यहरु दयानिधी सापकोटा, रामशरण सिम्खडा, योगकुमार फगामी, अर्कराज तिम्सिना र सुरोज मास्केले एनआरएनए आइसीसी तथा युरोप क्षेत्रबाट सञ्चालित अभियानबारे जानकारी गराएका थिए ।

एनआरएनए यूकेको सहयोग अभियान समय सान्दर्भिक रुपमा अघि बढिरहेको भन्दै उनीहरुले आफ्ना सुझावहरु समेत राखेका थिए ।
एनआरएनए यूके स्वास्थ्य विभाग तथा कोभिड १९ अभियानका संयोजक डा. सुनिल शाहले अहिले सञ्चालित सचेतना अभियान र आगामी कार्ययोजनाको बारेमा जानकारी दिएका थिए । सचिवद्वय जीत रानाभाट र कोशलेश्वर ढकालले हेल्पलाइनको सम्बन्धमा अपडेट गराएका थिए ।

बैठकमा उपाध्यक्ष रोजिना प्रधान राईले विद्यार्थीका समस्या तथा उपाध्यक्षद्धय प्रेम गाहामगर र नारायण कंडेलले क्षेत्रीय संयोजक तथा स्वयंसेवकसम्बन्धी विषयमा जानकारी प्रस्तुत गरेका थिए ।

एनआरएन यूके कोभिड १९ सहयोग संकलन समितिका संयोजक एवम् इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले आर्थिक संकलन अभियानको प्रगतिबारे सुनाएका थिए । कार्यसमितिका सदस्यहरु कृष्ण खरेल, ज्ञानेन्द्र आले, हेम गुरुङ, प्रकाश कंडेल, ह्यारी गुरुङ र धन बहादुर सार्कीले आ-आफ्नो क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

अध्यक्ष पुनम गुरुङले एनआरएनए यूकेको कोभिड १९ सचेतना तथा सहयोग अभियान प्रभावकारी बनिरहेको बताउँदै यसमा योगदान गर्ने कार्यसमितिका पदाधिकारी र आम समुदायलाई धन्यवाद ज्ञापन गरिन् । उनले आगामी कार्ययोजनाका सम्बन्धमा कार्यसमितिलाई ब्रिफिङ समेत गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू