बिहीबार, चैत १५, २०८०
13:31 | १९:१६

सहारा यूके टिम आहा रारा गोल्डकपमा सहभागी नहुने, सहयोग यथावत

नेपाली लिङ्क मार्च १३, २०२१

फाइल तस्बिर- मिलन तमु

लन्डन । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा यसपटक बेलायतबाट सहभागिता नहुने भएको छ ।

वर्षेनी सहभागिता जनाउने गरेको सहारा यूके टिम यो पटक कोभिड महामारीका कारण नजाने भएको हो ।

‘१९ औं संस्करणमा सहारा यूके टिम नजाने कन्फर्म भइसकेको छ । पदाधिकारी साथीहरु पनि यसपटक धेरै थोरै सहभागी हुने देखिएको छ’, सहारा यूके अध्यक्ष कुमार गुरुङले नेपाली लिंकसंग भने, ‘हामी वर्षेनी टिमसहित झण्डै ४० जना पदाधिकारीहरु पोखरा जान्थ्यौं । यो पटक कोभिडले सम्भव भएन, तर नेपालमा प्रतियोगिता रोकिएन त्यो नै राम्रो पक्ष छ ।’

यूकेबाट प्रतियोगितालाई हुने सहयोग भने विगत जस्तै गरिएको अध्यक्ष गुरुङले जनाए । प्रतियोगिताको आकर्षणका रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडललगायत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा यूकेले उपलब्ध गराएको छ ।

सहारा यूकेले ‘म्यान अफ दि म्याच’ बन्ने खेलाडीलाई ५ हजार रुपैयां नगद र ट्रफी दिने गर्छ । ‘हामीले ट्रफी वेष्ट क्वालिटीको पठाउंछौं । यूके र गुणस्तरको कुरा आउंदा त्यसले निकै महत्व राख्छ’, गुरुङले भने ।

सहारा क्लब पोखराको आयोजनामा वर्षेनी हुने उक्त प्रतियोगिता सफल बनाउन सहारा यूके, सहारा अष्ट्रेलिया र सहारा हङकङले निरन्तर सहयोग गरेका छन् । सहारा यूकेले पोखरा रंगशाला निर्माणदेखि असहाय बालबालिकालाई निरन्तर सहयोग गरेको छ ।

सहाराले क्याराभान गोल्ड कपसहित २० वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबबाट पोखरा–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।

विसं २०७० देखि उनीहरुले आवासीयरुपमा स्वास्थ्य, शिक्षा, दिक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

आठ टोलीको सहभागिता रहने
यसपटक आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । ‘खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यसहित सहारा क्लब पोखराको आयोजनामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने १९औं संस्करणको प्रतियोगितामा विदेशी एकसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब नेपाल आयल निगम, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार, नेपाल एपिएफ क्लब, सङ्कटा क्लब, मछिन्द्र क्लब र आयोजक सहारा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिए ।

त्यसैगरी विदेशी टोली अफ्रिकन रुट एशोसिएसन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पांच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यस वर्ष ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट एक जना राष्ट्रिय टोलीका खेलाडीलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएको छ । यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगी स्व सूर्यबहादुर केसीको स्मृतिमा उत्कुष्ट पांच विधाको पुरस्कार अर्पण गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब सिटी’का रुपमा परिचित गराउंदै नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको बताइन्छ ।

प्रतियोगितामा अनुमानित रु एक करोड २९ लाख एक हजार आम्दानी भई प्रतियोगिता सञ्चालनमा रु एक करोड एक लाख ८१ हजार खर्च हुने क्लबले जनाएको छ । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकका रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू