शुक्रबार, वैशाख ७, २०८१
15:08 | १९:५३

बेलायतका नेपाली स्रष्टाका गीतहरु एउटै संग्रहमा प्रकाशन गर्दै गुरुङ

नेपाली लिङ्क मार्च १०, २०२१


लन्डन । बेलायतको नेपाली समुदायमा एक पाका र बौद्धिक अभियन्ताका रुपमा चिनिन्छन् एकेन्द्र गुरुङ । आफ्नो जीवनको महत्वपूर्ण समय नेपालमै शिक्षण पेशामा बिताएका उनले अहिले अवकाशप्राप्त जीवनलाई गीत लेखन, चलचित्र निर्माण जस्ता सिर्जनशिल कार्यमा व्यतित गरिरहेका छन् ।

पछिल्लो समय भने गुरुङले बेलायतमा एउटा नयाँ अभियान शुरु गरेका छन्- बेलायतवासी नेपाली स्रष्टाले रचना गरेका गीतहरुको संग्रह प्रकाशन गर्ने । बेलायतमा रहेर गीत लेखनमा सक्रिय नेपाली स्रष्टाहरुलाई एउटै मालामा गाँस्ने उनको अभियान हो ।

बेलायतका नेपाली स्रष्टाहरुका कविता, कथा, निबन्ध लगायतका संग्रह प्रकाशन भइसकेको सन्दर्भमा गीतकारहरुका सिर्जना पनि संकलन गर्ने सोच गुरुङले बनाएका हुन् ।

‘यसअघिका राजदूत दुबसुजीले बेलायतस्थित नेपाली स्रष्टाका कविता, कथा र निबन्ध संग्रहहरु प्रकाशन गर्नुभयो । विजय हितानजीले पनि कविताहरु संग्रहित गर्नुभएको छ । गीत लेख्ने पनि धेरै स्रष्टाहरु हुनुहुन्छ । उहाँहरुको सिर्जनालाई एकत्रित गर्ने र संग्रहका रुपमा सुरक्षित गर्ने मेरो रहर हो’, उनले भने ।

संग्रहमा आफ्ना गीत संग्रहित गर्न इच्छुक गीतकारहरुलाई रचना पठाउन गुरुङले आव्हान गरिसकेका छन् । स्रष्टाहरुलाई आफ्नो रचनाका दुई वटा गीत, व्यक्तिगत विवरण र एकप्रति तस्विर पठाउन उनले आग्रह गरेका छन् । रचनाहरु पठाउन उनको इमेल [email protected] छ भने आवश्यक जानकारीका लागि सम्पर्क गर्न मोबाइल नम्बर 07533181153 छ ।

आफ्नो रचनामा गीतहरु रेकर्ड गराइसकेका स्रष्टालाई गीत पठाउन गुरुङले आव्हान गरेका छन् । नयाँ, पुराना सबै स्रष्टाका गीतहरु समेट्ने उनको योजना छ । मूलत: नेपाली भाषाकै गीत अपेक्षा गरिएको भएपनि अंग्रेजीसहितका अन्य भाषामा नेपाली स्रष्टाले लेखेका गीतहरु भए अनुवाद गरेर संग्रहमा राख्न सकिने उनी बताउँछन् ।

अपेक्षा गरेअनुरुपकै समयमा गीतहरु संकलनको कार्य पूरा भए अबको दुई महिनाभित्रै संग्रह प्रकाशन गर्ने लक्ष्य गुरुङको छ । व्यक्तिगत पहलमै गीत संग्रह प्रकाशनको अभियान शुरु गरेका उनले यसका लागि आवश्यक खर्च समेत आफै व्यहोर्दैछन् ।

नेपाली र गुरुङ भाषा गरी गुरुङले लेखेका दुई दर्जन बढी गीत रेकर्ड भएका छन् । उनको १ सय ३० वटा गीत संग्रहित गीतसंग्रह पनि प्रकाशित छ । उनले करिब आधा दर्जन गुरुङ चलचित्र निर्माण समेत गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू