शुक्रबार, वैशाख १४, २०८१
20:42 | ०१:२७

लन्डनमा श्रेष्ठको अभियानबाट झण्डै ४ सय नेपाली परिवारलाई राहत

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२१

लन्डन । लन्डनका एकजना नेपाली चलचित्रकर्मी मनिष श्रेष्ठले लकडाउन अवधिमा सञ्चालन गरेको राहत अभियानबाट करिब ४ सय घरपरिवार लाभान्वित भएका छन् ।

साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित गोर्खा क्लब रेष्टुरेन्टका सञ्चालक समेत रहेका श्रेष्ठले डेढ महिनाको अवधिमा अफ्ठेरोमा परेका ती स्थानीय नेपालीहरुलाई सहयोग बाँडेका हुन् ।

अभियानबाट कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेका स्थानीय नेपाली तथा विद्यार्थीलाई खाद्यान्नसहित राहत बाँडिएको हो ।

जनवरी ६ मा शुरु भएर फेब्रुअरी १६ सम्म चलेको अभियानबाट कुल ३ सय ८७ परिवारलाई सहयोग उपलब्ध गराइएको श्रेष्ठले नेपाली लिंकलाई बताए । लकडाउनका बेला समस्यामा परेर सहयोग लिनेहरुमा अधिकांश भूतपूर्व गोर्खा परिवारका वृद्धवृद्धा र विद्यार्थी छन् भने संक्रमणका कारण परिवार नै आइसोलेसनमा बस्न बाध्य भएकाहरु पनि छन् ।

‘सबैभन्दा ठूलो समस्यामा वृद्धवृद्धाहरु परेको पायौं । अरुसंग घर शेयर गरेर बस्ने त बरु एक्लै हुनुहुन्न तर काउन्सिलको घरमा बस्नेहरु एक्लै पर्नुहुंदोरहेछ । न आफैं केही गर्न सक्नुहुन्छ न त सहयोग गर्ने अरु कोही उपलब्ध छ’, श्रेष्ठले सुनाए ।

लामो लकडाउन र संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्दा कयौं नेपालीहरु समस्यामा रहेको थाहा पाएपछि सहयोगको सोच बनाएको श्रेष्ठले सुनाए । गत वर्ष ५ महिनाको अवधिमा आफ्ना मातापिता गुमाएका उनले न अन्तिम समयमा जन्मदाताको मुख हेर्न पाए, न त नेपाल गएर काजक्रियामा सहभागी बन्न नै । मनभित्रको यही पीडालाई हलुको गर्न पनि उनले स्वर्गीय मातापितालाई सम्झिंदै सहयोगको हात अघि बढाए ।

उनलाई श्रीमती अनु श्रेष्ठले शुरुदेखि  नै प्रेरित गरिन् ।  समाजसेवा मागेर होइन, आफैले जति सकिन्छ शुरु गरिहाल्नुपर्छ भन्ने श्रीमतीले उनलाई हौसला मात्र बढाइनन्, अभियानको सिंगो अवधि हरेक कार्यमा साथ दिइन् पनि ।

श्रीमती अनु श्रेष्ठ

‘गोर्खा क्लबमा किचन छ, पकाउनका लागि सेफहरु छौं । हामी खाना पकाउन तयार छौं, हामीले पकाएको खाना आवश्यकतामा रहेको नेपालीसम्म पुर्याइदिने कोहि हुनुहुन्छ कि भनेर फेसबुकमा पोस्ट गरेको २५ जना उबर ड्राइभर साथीहरु सम्पर्कमा आउनुभयो’, श्रेष्ठले सुनाए, ‘अनि त हामी पनि सहयोग गर्छौ भनेर दाल, चामल, तेल लगायतका खाद्यान्न ल्याएर आउने कयौं दाताहरु आउनुभयो ।’

राहतका क्रममा गोर्खा क्लबमै पकाएको खाना घरघरसम्म पुर्याउने मात्र नभइ सम्बन्धित परिवारलाई एक महिनाको लागि पुग्ने खाद्यान्नसहितका आवश्यकीय सामग्री सहयोग गरिएको श्रेष्ठ बताउँछन् । ‘हामीले टेलिफोन गरेर पनि सोध्यौं । उहाँहरुले जे आवश्यक छ भन्नुभयो, त्यही जुटाएर लैजाने कोशिस गर्यौं’, उनले भने ।

यो अभियानमा आधा दर्जन बढी संघसंस्थाका साथै दुई दर्जन बढीले व्यक्तिगत रुपमा सहयोग गरे । राहत वितरणका लागि गोर्खा क्लबमै आएर सहयोग गर्ने कयौं स्वयमसेवकहरु भए ।

श्रेष्ठको अभियानमा साथ दिने सिम्मी पुन, विकास गुरुङ, मधु राना, कुमार श्रेष्ठ र सुशिल प्रजापति ।

‘हामीले गरेको सानो पहलमा सबैले ठूलो साथ दिनुभयो र धेरै नेपालीलाई सहयोग गर्न सक्यौं । यो अभियानमा शुरुदेखि अन्त्यसम्म निरन्तर साथ दिने सिम्मी पुन, विकास गुरुङ र मधु रानासंगै कुमार श्रेष्ठ, सुशिल प्रजापति लगायत अभियन्ताहरुप्रति विशेष आभार प्रकट गर्दछु । सम्पूर्ण दाता एवम् स्वयमसेवकलाई पनि धन्यवाद भन्न चाहन्छु’, श्रेष्ठले भने ।

राहत अभियानका क्रममा साउथ इष्ट लण्डनका ग्रीनवीच र बेक्सली बरोमा बस्ने नेपालीहरुलाई सहयोग प्रदान गरिएको थियो । अभियानबारे थाहा पाएर सहयोग अपेक्षा गर्दै बेलायतका अन्य क्षेत्रबाट सम्पर्कमा आउनेहरुलाई पनि स्थानीय संघसंस्थासंगको समन्वयमा सहयोग उपलब्ध गराइएको श्रेष्ठले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू