पत्रकार महासंघ यूकेमा थपिए ९ सल्लाहकार, १५ औं स्थापना दिवस भव्य बनाउने तयारी

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले संस्थामा ९ जना सल्लाहकार थप गर्दै आगामी १० जुलाईमा १५ औं स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा मनाउने निर्णय गरेको छ।
गत १६ जुन २०२६ मा सम्पन्न भर्चुअल बैठकले शाखाको आगामी कार्यक्रम, सल्लाहकार चयन, सदस्यता विस्तार तथा विविध संस्थागत विषयहरूमा महत्वपूर्ण निर्णय गरेको हो । बैठकको अध्यक्षता शाखाकी अध्यक्ष विमला सेनेले गरेकी थिइन् ।
बैठकमा ६ जुनमा वेल्समा सम्पन्न नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिएको थियो । उक्त कार्यक्रम अत्यन्त सफल, ऐतिहासिक तथा स्मरणीय रहेको निष्कर्ष बैठकले निकालेको छ । कार्यक्रममा समुदायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने निर्णय गरिएको छ । अब यूकेका अन्य स्थानहरूमा पनि समुदायसँग अन्तरक्रिया तथा पत्रकारिता सम्बन्धी कार्यक्रम आयोजना गर्ने विषयमा सहमति भएको छ ।
यसैगरी बैठकमा आगामी १० जुलाई २०२६ मा आयोजना हुने १५ औं स्थापना दिवस तथा वार्षिक उत्सव तयारीबारे विस्तृत छलफल गरियो । कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत र सहसंयोजक उपाध्यक्ष प्रमिला लाबुङ राईले हालसम्मको तयारीबारे बैठकलाई जानकारी गराएका थिए। स्थापना दिवस कार्यक्रममा संस्थापक सम्मान गर्ने कार्यक्रम तय भएकाले हाल सम्पर्कमा नभएका र बेलायत बाहिर भएकालाई पनि सम्पर्क गर्ने प्रयास भइरहेको संयोजक बस्नेतले जानकारी दिए । यदि कसैसंग सम्पर्क भएपनि जानकारी गराउन उनले आग्रह गरेका छन् ।
कार्यक्रम सफल, व्यवस्थित तथा भव्य बनाउन सबै पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा बैठकले जोड दिएको छ। आर्थिक व्यवस्थापन तथा स्पोन्सरसीप जुटाउन सामूहिक पहल गर्ने निर्णय पनि गरिएको छ। अतिथि निमन्त्रणा गर्न पत्राचारको जिम्मेवारी महासचिव तथा दुई सचिवद्वय विश्वासदीप तिगेला र मन्जु भण्डारीलाई दिइएको छ।
यसैगरी बैठकले सल्लाहकारमा वरिष्ठ पत्रकार भगीरथ योगी, पूर्व अध्यक्ष चिरन शर्मा, श्याम लुईंटेल, दिनेश परियार, पूर्ण गुरुङ, कुशल श्रेष्ठ, प्रजय शुक्ला, नरेश काङ्माङ राई र जयराम तामाङलाई चयन गरेको छ । यसअघि संस्थापक अध्यक्ष नवीन पोखरेल तथा पूर्व अध्यक्षहरु नरेश खपांगीमगर र ध्रुवराज अर्याल सल्लाहकार चयन भइसकेका थिए ।
त्यस्तै बैठकमा नयाँ सदस्यता खुला गर्ने विषयमा पनि छलफल भएको थियो । इच्छुक व्यक्तिहरूलाई आवेदन दिन सक्ने व्यवस्था गर्ने, पुराना छुटेका वा सदस्यता नपाएका व्यक्तिहरूको शुल्क व्यवस्थापन गर्ने तथा यस विषयमा थप अध्ययन गर्न १५ स्थापन दिवसलगत्तै समिति गठन गर्ने निर्णय बैठकले गरेको छ। सदस्यता सम्बन्धी अन्तिम निर्णय आगामी बैठकमा गर्ने बताइएको छ ।
विविध एजेन्डाअन्तर्गत सचिव मञ्जु भण्डारी खरेल गुल्मी जिल्ला समाज यूकेको अध्यक्ष पदमा निर्वाचित भएकोमा बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको छ। त्यस्तै कार्यसमिति सदस्य नरेन्द्र नेम्वाङका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ।
बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
नेपाल पत्रकार महासंघ यूके शाखाले आगामी स्थापना दिवसलाई संस्थागत एकता, पत्रकारिता क्षेत्रको योगदान र यूकेस्थित नेपाली समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ । सल्लाहकार चयन, सदस्यता विस्तार र समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने निर्णयसँगै महासंघ यूकेले आफ्नो आगामी गतिविधि थप तीव्र र व्यवस्थित बनाउने संकेत दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



