बिहीबार, १८ जुन, २०२६
22:59 | ०३:४४

बेलायतमा नेपाली समुदायमाथि ‘घृणित’ जातीय आक्रमणको सांसद बेकरसहित दूतावासद्वारा निन्दा

नेपाली लिङ्क जुन १८, २०२६

लन्डन–अल्डरसटबाट निर्वाचित सांसद एलेक्स बेकरले मंगलबार म्युनिसिपल गार्डेन्समा शहरको नेपाली समुदायका सदस्यहरूलाई लक्षित गरी भएको जातीय आक्रमणको कडा भर्त्सना गरेकी छन्।

अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालकी अध्यक्ष पनि रहेकी सांसद बेकरले उक्त घटनाबारे ह्याम्पशायर पुलिससँग आफूले कुराकानी गरेको र प्रहरीले उक्त क्षेत्रमा गस्ती बढाउन सहमति जनाएको बताइन्।

सांसदले उक्त हमलालाई ‘भयावह’ भन्दै यसबाट धेरै स्थानीय वासिन्दाहरू भयभीत भएको जनाइन्।

‘म स्पष्ट पार्न चाहन्छुः हिंसा, धम्की र जातीय भेदभावको अल्डरसटमा कुनै ठाउँ छैन’, बेकरले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘आफ्नै छिमेकमा म को हुँ, कहाँबाट आएको हुँ, वा छालाको रंगका कारण कोही पनि असुरक्षित महसुस गर्नु हुँदैन।’

हाल अल्डरसटमा बसोबास गरिरहेका गोर्खाहरूको नाजी अत्याचारविरुद्ध लडेको गौरवशाली इतिहास छ, तर आज त्यही घृणित विचारधारा नेपाली वासिन्दाहरूलाई लक्षित गर्न प्रयोग भइरहेको सुन्नु ‘घृणास्पद र भयावह’ रहेको उनले बताइन्।

सांसद बेकरले शहरको नेपाली तथा गोर्खा समुदायको योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरू अल्डरसटको पहिचान र इतिहासको अभिन्न अंग भएको बताइन्।

‘उनीहरूको सेवा, बलिदान र योगदान अल्डरशटको कथाको हिस्सा हो। उनीहरू हाम्रा छिमेकी, सहकर्मी, साथीभाइ र परिवार हुन्’, उनले भनिन्।

बेकरले अनलाइन माध्यममा प्रयोग हुने उत्तेजक भाषा (जसमा केही निर्वाचित प्रतिनिधिहरूले प्रयोग गरेको भाषा समेत) ले समुदायहरूमा विभाजन र जातिवाद भड्काएर वास्तविक क्षति पुर्‍याइरहेको भन्दै चेतावनी पनि दिइन्।

‘जो मानिसले जातिवाद र घृणा फैलाउँछन् उनीहरूले अल्डरशटको प्रतिनिधित्व गर्दैनन्’, उनले थपिन्।

उनले आप्रवासी समुदायले सुरक्षित र संरक्षित महसुस गर्न सकून् र आक्रमणका दोषीहरूलाई न्यायको कठघरामा ल्याउनका लागि प्रहरी र स्थानीय समुदायसंग मिलेर काम गर्ने पनि जनाइन् ।

यसैबीच, मंगलबार सांझ नेपाली बृद्ध नागरिकहरुप्रति भएको अमानवीय घटनाप्रति लन्डनस्थित नेपाली राजदूतावासले दुःख व्यक्त गरेको छ ।

दूतावासले उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र सबै पक्षलाई संयमित हुन पनि हार्दिक अनुरोध गरेको छ । साथै, पीडित नागरिकहरुको पक्षमा ऐक्यबद्धता जनाउने सबैमा राजदूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

उता, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले भूतपूर्व गोर्खा सैनिकप्रति गरिएको उक्त हमलाको निन्दा गरेका छन्। उनले घृणा फैलाउने यस्ता घटनाहरुविरुद्ध सचेत, सजग र एकजुट हुन अपील पनि गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू