भूपू गोर्खामाथि आक्रमणपछि बेलायती र नेपाली समुदाय एकैठाउँ, सद्भावको अपील


लन्डन- बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरुमाथि जातीय घृणाप्रेरित एक आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदाय एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावको लागि अपील गरेका छन् ।
मंगलबार बेलुका नेपाली वृद्धहरुमाथि आक्रमण भएको अल्डरसटको म्युनिसिपल पार्कमा बुधबार सांझ गरिएको सद्भाव कार्यक्रममा स्थानीय रशमेर बरो र ह्याम्पशायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी थिए।
स्थानीय युवा राजनीतिकर्मी डा विशाल गुरुङले संयोजन गरेको कार्यक्रममा रश्मोर बरोका काउन्सिल लिडर ग्यारेथ विलियम्स, ह्याम्पशायर काउन्टी काउन्सिलर केन ट्रान्टर, डेपुटी काउन्सिल लिडर सोफी पोर्टर, पूर्व मेयर ज्याकी भोस्परसहित झण्डै एक दर्जन स्थानीय काउन्सिलरहरु सहभागी थिए।
त्यस्तै, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, रश्मोर नेपाली कम्युनिटी उपाध्यक्ष एवम् काउन्सिलर उत्तरबहादुर गुरुङसहित नेपाली समुदायबाट समेत कयौं प्रतिनिधि कार्यक्रममा सहभागी भएको संयोजक डा गुरुङले बताए ।
स्थानीय कयौं संघसंस्थाका प्रतिनिधिले छोटो सूचनाका कारण कार्यक्रममा सहभागी हुन नसकेपनि आफ्नो ऐक्यवद्धता जनाएका थिए ।

सो अवसरमा मन्तव्य दिंदै रश्मोर बरोका काउन्सिल लिडर ग्यारेथ विलियम्स, डेपुटी काउन्सिल लिडर सोफी पोर्टरलगायतले घटनाप्रति दुख व्यक्त गर्दै आक्रमणको निन्दा गरे । अपराधिक मानसिकताका एक व्यक्तिबाट भएको यो कार्यले स्थानीय सिंगो बेलायती समुदायको प्रतिनिधित्व नगर्ने उनीहरुले स्पष्ट पारे । रश्मोर बरोमा विगत लामो समयदेखि नेपाली समुदायसंग सद्भावपूर्वक बस्दै आएको तथा नेपालीहरुप्रति आफूहरुको उच्च सम्मान र प्रेम रहेको भनाइ उनीहरुको थियो ।
त्यस्तै, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, रश्मोर नेपाली कम्युनिटी उपाध्यक्ष एवम् काउन्सिलर उत्तरबहादुर गुरुङलगायतले पनि यो घटनालाई सिंगो सुमदायसंग नजोड्न आग्रह गरेका थिए । घटनापछि स्थानीय काउन्सिल, प्रहरीलगायतका निकाय तथा सिंगो बेलायती समुदायले नेपाली समुदायप्रति सान्त्वना र ऐक्यबद्धता व्यक्त गरेकोमा उनीहरुले धन्यवाद दिए ।
आक्रमणका पीडित पूर्व गोर्खाहरुसमेत कार्यक्रममा सहभागी भएर घटनाविवरण सुनाएका थिए । १६ वर्षको बेलायत बसाइमा यस्तो अनुभव कहिल्यै नभएको भन्दै उनीहरुले घटनापछि आफूहरु ज्ञसित बनेको र आफ्नै घरनजिकको पार्कमा पनि हिड्न नपाउने अवस्था बनेकोमा दुख लागेको बताए ।

कार्यक्रमका संयोजक डा गुरुङले एकजनाको खराब कामले गर्दा सिंगो समुदायलाई नकारात्मक रुपमा नहेर्न आग्रह गरे । उनले स्थानीय सांसद एलेक्स बेकर, ह्याम्पशायर पुलिस चिफ कमिश्नर डोना जोन्सलगायतले पनि टेलिफोन सम्पर्क गरी घटनाबारे जानकारी लिएको, दुख व्यक्त गरेको र जुनसुकै उपाय लगाएर पनि दोषीलाई कारबाही दिलाउने वचन दिएको जानकारी गराए ।
कार्यक्रम संयोजक डा गुरुङले केही घण्टाको छोटो सूचनामा पनि भेला भएर ऐक्यवद्धता जनाउने सहभागी तथा कार्यक्रम आयोजनाका लागि विशेष सहयोग गर्ने तमुधिं यूके सचिव विमल गुरुङसहित सबैलाई धन्यवाद दिए ।
तस्बिरहरू- विमल गुरुङ



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


