शुक्रबार, चैत १६, २०८०
23:46 | ०५:३१

प्रवासका नेपालीलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संसद पुनस्थापना हुन्छ’

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२१

पुष्पकमल दाहाल । तस्बिर- रासस

लन्डन । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेकपा प्रवास समन्वय कमिटीले शनिबार आयोजना गरेको ‘नेपालको राजनीति’ बारे एक अन्तरक्रियामा दाहालले नेपालमा सकारात्मक माहोल बनिसकेको उल्लेख गर्दै सर्वोच्च अदालतप्रति आफ्नो विश्वास रहेको बताए ।

‘निर्वाचन आयोगले पनि हामीलाई चुनाव चिन्ह र आधिकारिकता दिनुको विकल्प छैन्’, दाहालले भने, ‘नेपालमा फेरि अस्थिरता र अराजकता कसैले चाहेको छैन् । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि ओलीको प्रतिक्रान्तिकारी हमला हो, यो सच्चिनुपर्छ ।’

प्रधानमन्त्री केपी ओलीले अहिले विक्षिप्त मानसिकता र होस गुमेको अवस्थामा अदालतलाई धम्क्याउन थालेका पनि दाहालले बताए । दाहालले भने, ‘ओलीजीको दिमागले राम्रो काम नगरेको हो कि भन्ने छ । उहां अहिले निर्वाचन आयोग, उपराष्ट्रपति, सभामुखलाई अपमानित गर्न लाग्नुभएको छ ।’

ओलीको कदम असंवैधानिक भन्नेमा सबै राजनीतिक दल, नागरिक समाज र सबै तह तप्का नै एकमत रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले ओलीकै पक्षमा रहेको भनिएका करिब ९० प्रतिशत सांसद पनि उनको कदमविरुद्ध रहेको जिकिर गरे ।

संसद पुनस्थापनापछि सामाजिक न्यायसहित विकासको मोडलमा आफूहरुको ध्यान केन्द्रित हुने उनले बताए ।

ओलीले एकतापछि ‘डे वान’ देखि नै भएका निर्णयमाथि अतिक्रमण र उल्लंघन गरेको आरोप लगाउंदै राजनीतिक प्रतिवेदन छापेर वितरण गर्न रोक्ने, विधान अनुसार बैठक बस्न इन्कार गर्ने, आलोचना सुन्न नसक्ने प्रवृत्ति देखा परेर अन्ततः ओलीले दुर्घटना निम्त्याउन पुगेको धारणा प्रचण्डले 
राखे ।

दाहालले नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खाहरुको समान हक अधिकार आन्दोलनमा आफ्नो सधैं साथ रहेको पनि बताए ।

कार्यक्रममा अर्का वक्ता पूर्व मन्त्री तथा नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले केपी शर्मा ओलीले पार्टी अध्यक्षको रुपमा पार्टीको विधान र प्रधानमन्त्रीको रुपमा देशको सम्वोधनलाई पटक पटक उल्लङ्घन गरेको आरोप लगाए । उनले अदालतले संसद पुनरस्थापना गरि दियो भने पनि ओलीले दल फुटाउने अध्यादेश ल्याउन सक्ने बताए ।

अहिलेको चुनौती भनेको एउटा लोकतान्त्रिक, जनतासंग जोडिएको र समाजवादमुखी राजनीतिक पार्टी गठन गर्नु रहेको उनले बताए ।

कार्यक्रमको शुरुमा नेकपाको प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईंले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन मात्रै हैन्, नेपालका ठूल्ठूला राजनीतिक परिवर्तनमा प्रवासमा रहेका नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विगतमा बनेका सरकारहरुले प्रवासी नेपालीहरुको समस्या समाधान गर्न खासै काम गर्न नसकेको बताए । कार्यक्रममा नेकपाको प्रवास समन्वय कमिटिका सचिव श्री प्रसाद साहले पनि बोलेका थिए ।

उक्त कार्यक्रम प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीको सञ्चालनमा भएको हो । भर्चुअल कार्यक्रममा देशविदेशबाट झण्डै ५०० जना जोडिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू