शुक्रबार, ७ अगस्ट, २०२६
15:50 | २०:३५

लन्डन दूतावासमा ‘आरोग्य र समृद्धिका लागि स्व–जागरण’ विषयक प्रवचन

नेपाली लिङ्क अगस्ट ७, २०२६


लण्डन, ७ अगस्ट — नेपालको आध्यात्मिक ज्ञान, वेलनेस (स्वास्थ्य–समृद्धि) र समृद्ध सांस्कृतिक सम्पदालाई विश्वमाझ परिचित गराउने उद्देश्यले लण्डनस्थित नेपाली दूतावासमा ‘सेल्फ–अवेकनिङ फर वेलनेस एन्ड प्रोस्पेरिटी’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कूटनीतिक समुदाय, सञ्चारकर्मी, गैरआवासीय नेपाली तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो।

आत्मचेतना, मानसिक एवं शारीरिक स्वास्थ्य, आन्तरिक रूपान्तरण र समृद्धिबीचको सम्बन्धबारे सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जीवन विज्ञानका सह–संस्थापक तथा जीवन विकास विशेषज्ञ एल. पी. भानु शर्माले नेपालले संसारलाई हिमाल र प्राकृतिक सौन्दर्य मात्र नभई आफ्नो अद्वितीय आध्यात्मिक ज्ञान र जीवनदर्शन पनि दिन सक्ने बताए।

उनले नेपालको हिमाली परम्परामा आधारित योग, ध्यान, अध्यात्म, माइन्डफुलनेस, प्राकृतिक स्वास्थ्य पद्धति तथा सचेत जीवनशैलीलाई विश्वव्यापी वेलनेसको आधारका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरे।

यस्ता सम्पदाले नेपाललाई विश्वस्तरको वेलनेस, आन्तरिक रूपान्तरण र समग्र समृद्धिको गन्तव्यका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो।

“विश्व समुदायलाई नेपाल हेर्न मात्र होइन, नेपाललाई अनुभूति गर्न निमन्त्रणा दिनुपर्छ,” उनले भने- “नेपालको प्रकृति, ज्ञान, उपचार परम्परा र जीवनशैलीलाई विश्वसामु पुर्‍याउन हामी सबैले सहकार्य गर्न आवश्यक छ।”

उनले ‘हिमालयन विज्डम, ग्लोबल वेलबिइङ’ (हिमालयको ज्ञान, विश्वको कल्याण) को अवधारणालाई अघि सार्दै नेपालको वेलनेस परम्परा केवल हाम्रो सांस्कृतिक सम्पदा मात्र नभई विश्वलाई दिन सकिने अमूल्य उपहार भएको उल्लेख गरे।

जीवन विज्ञानका सह–संस्थापक तथा जीवन विकास विशेषज्ञ एल. पी. भानु शर्मा

कार्यक्रमका क्रममा सहभागीहरूलाई ‘सेल्फ–अवेकनिङ मेडिटेसन’ अभ्यास पनि गराइएको थियो। छोटो समयको ध्यान अभ्यासपछि धेरै सहभागीहरूले मानसिक शान्ति, वर्तमान क्षणप्रतिको सजगता तथा सकारात्मक ऊर्जाको अनुभूति गरेको अनुभव साझा गरेका थिए।

यसले ध्यान केवल सैद्धान्तिक विषय नभई प्रत्यक्ष अनुभव गर्न सकिने अभ्यास भएको सन्देश दिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले शर्माप्रति धन्यवाद व्यक्त गर्दै नेपाल सरकारले वेलनेस पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताए।

उनले नेपालको आध्यात्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमले नेपालको योग, ध्यान, अध्यात्म र प्राकृतिक स्वास्थ्य परम्परालाई विश्वसँग जोड्दै वेलनेस पर्यटनको नयाँ सम्भावना उजागर गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू